ओसेनिया क्षेत्रीय संयोजकका उम्मेद्वार प्रेम सापकोटा भन्छन्, ‘उम्मेद्वारी फिर्ता हुन्न’


गैरआवासीय नेपाली संघको आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुने विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने दिन नजिकिँदै गर्दा उम्मद्वारीको क्रम पनि बढेको छ । यसैक्रममा अष्ट्रेलियाबाट ओसेनिया क्षेत्रको संयोजक पदमा प्रेम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् । विभिन्न प्रवासी संगठनमा सक्रिय रहँदै आएका सापकोटा जनसम्पर्क समिति निकट उम्मेद्वार हुन् । उनले एनएडीएफमा समेत रहेर काम गरिसकेका व्यक्तित्व हुन् । सन् २०११ को कार्यकालमा एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष रहेका सापकोटाले त्यसपछि अध्यक्ष पदमा दुई पटक उम्मेद्वारी दिएपनि सहमतिको लागि फिर्ता लिएका थिए । यस पटक के हुन्छ त ? ओसेनिया क्षेत्रीय संयोजक उम्मेद्वारी फिर्ता हुन्छ कि ?  प्रश्नको जवाफमा सापकोटाले भने, “यस पटक म कुनैपनि हालतमा उम्मेद्वारी फिर्ता लिन्न । र, म चुनाव जित्छु भन्नेमा ढुक्क छु । सहमतिको नाममा यसअघि धेरै पटक अन्य साथीहरुलाई सहयोग गरेकै हो । तर, यस पटक म फिर्ता लिन्न ।” सन् १९९९ देखि अष्ट्रेलियामा रहँदै विभिन्न व्यवसायमा संलग्न रहेका सापकोटा सहितका हालै नेपालमा हस्पिटालिटी कोर्ष पढाई हुने कलेज पनि सञ्चालनमा ल्याएका छन् । चुनावको तयारीका लागि एक साताभन्दा अगाडिदेखि नै काठमाडौंमा पुगिसकेका सापकोटाले काठमाडौंबाटै एमएनटीभीसँग भने, “यस पटक मलाई ओसेनिया क्षेत्रीय संयोजक पदमा साथीहरुले विजयी गराउनुहुन्छ भन्नेमा ढुक्क छु ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?