एनआरएन ओसेनिया क्षेत्रीय संयोजकमा न्यूजिल्याण्डका दिनेश खड्काको पनि उम्मेद्वारी


गैरआवासीय नेपाली संघको आसन्न आठौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा उम्मेद्वारी घोषणाको क्रम जारी छ । यसैक्रममा न्यूजिल्याण्डको अकल्याण्ड निवासी दिनेश खड्काले ओसेनिया क्षेत्रीय संयोजक पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् । एक विज्ञप्ति जारी गर्दै खड्काले आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुन लागेको विश्व सम्मेलनमा ओसेनिया क्षेत्रबाट आफुले संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् । विगत १७ वर्षदेखि न्यूजिल्याण्डमा बसोबास गर्दै आएका खड्का अन्य विविध सामाजिक कार्यमा समेत संलग्न छन् । एनआरएन न्यूजिल्याण्डको स्थापना भएका बेला सन् २००५ मा संयोजक रहेका खड्का न्यूजिल्याण्ड नेप्लीज सोसाईटीको कार्यकारी सदस्य, सहसचिव र अध्यक्ष समेत बनेका थिए । यसैगरी न्यूजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा सन् २०१६ मा निर्वाचित बनेका थिए । अष्ट्रेलिया, न्यूजिल्याण्डसहित समेटिएको ओसेनिया क्षेत्रमा एनआरएनका गतिविधिहरुलाई प्रभावकारी रुपमा तल्लो तहसम्म लैजानका लागि आफुले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने ठानेर नै उम्मेद्वारी प्रस्तुत गरेको उनको तर्क छ । एमएनटीभीसँग कुरा गर्दै खड्काले भने, “न्यूजिल्याण्डमा रहेका नेपालीहरुले पनि प्रवासको प्रतिनिधित्व गर्दै नेपालमा महत्वपूर्ण कार्य गरिरहेका छन् । यस हिसाबले आईसीसी र क्षेत्रको जिम्मेवारीमा उनीहरुले कमै अवसर पाएको अवस्था छ । यस पटक यो प्रथा तोडियोस् भनेर म उठेको हुँ । मलाई आशा छ न्यूजिल्याण्डसहित यो क्षेत्रमा रहेको अष्ट्रेलिया लगायतका देशका एनआरएनहरुले मैले अहिलेसम्म समाजमा दिएको योगदान र एनआरएनमार्फत नेपालमा गर्नसक्ने कार्यहरुको मूल्यांकन गरेर मलाई ओसेनिया क्षेत्रीय संयोजक पदमा जिताउनुहुनेछ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?