नेपालमा झैं भव्य बन्यो अष्ट्रेलियाको दशैं, सामूहिक जमरादेखि सांगीतिक जमघटसम्म


– कविन्द्र थापा/मेलबर्न
यस वर्षको दशैंको टीका सकिएको छ । आगामी पूर्णिमासम्म टीका लगाउने, पारिवारिक भेटघाटको क्रम भने जारी नै रहनेछ । यस वर्ष नेपालमा जस्तै उल्लासमय बन्यो अष्ट्रेलियाको टीका पनि । दशैंको अवसरमा नेपाली हिन्दू परिषदले अष्ट्रेलियाका सबै शहरहरुको लागि आधिकारिक घटस्थापना, टीका र दैवी विसर्जनको साईत नै प्रकाशित गरेको थियो । पहिलो पटक प्रकाशित यो साईतको समय बढ्दो जनसंख्यासँगै समयको माग थियो । सिड्नी निवासी पण्डित एवं नेपाली हिन्दू समाजका कोषाध्यक्ष प्रकाश ढोडारी पहिलो पटक अष्ट्रेलियाका हरेक शहरको लागि साईतको समय निकालिएको बताउँछन् । उनी भन्छन्, नेपालीको संख्या बढेसँगै हामीले यस किसिमको व्यवस्था गरेका हौं । सूर्यको उदयका आधारमा टीकाको उत्तम साईत निर्धारण गरिन्छ । उनी आफैंसहित संलग्न भएर नेपाली हिन्दू समाजले सिड्नीका विभिन्न ६ ठाउँमा जमरा र टीका वितरणको व्यवस्था पनि मिलाएको थियो । उनी अगाडि थप्छन्, “विधिपूर्वक सामूहिक जमरा राख्ने र यसलाई वितरण गर्ने कार्यले समूदायको बीचमा सद्भाव बृद्धि गरेको छ । यससँगै हाम्रो धार्मिक परम्परालाई नेपालभन्दा टाढाको यो भूमिमा जगेर्ना गर्न पनि मद्दत गरेको छ ।”
नेपालीहरुको बसोबासको हिसाबले सिड्नीपछिको दोश्रो ठूलो शहर मेलबर्नमा पनि दशैंलाई भव्यताका साथ मनाइयो । सामूहिक जमरा राख्ने व्यवस्था यहाँको सामूदायिक केन्द्र समितिले गरेको थियो । अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका पूर्वअध्यक्ष रञ्जन वैद्य यसमा सक्रिय थिए । नवरात्रको हरेक दिन पूजा प्रार्थना गरी विजया दशमीको दिन विहानै जमरा वितरण गरिएको थियो । दशैंको अवसरमा सामूहिक जमरा मात्र होइन, टीकाको रौनक पनि सामाजिक सञ्जालमा प्रष्टै देखियो । यस पटक दशैंमा आफ्ना सन्तानहरुलाई टीका लगाइदिन आउने अभिभावकहरुको संख्या पनि मनग्यै थियो अष्ट्रेलियामा । दशैंमा नेपाल जान नसक्नेहरुले आफ्ना आमाबाबुलाई यहाँ बोलाएर पनि पारिवारिक जमघट सम्पन्न गरेका छन् । यस्तै दशैंको अवसरमा नेपालमा रिलिज गरिएको चलचित्र पनि त्यही दिन यहाँ रिलिज भएको थियो । दीपक दिपाको छक्का पञ्जा २ को रिलिज मेलबर्नमा गरिएको थियो भने परिवारका साथ दशैंको रमाइलोलाई चलचित्र हेरेर स्वागत गर्नेहरु पनि खुशी देखिन्थे । एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने सिड्नी, मेलबर्न, ब्रिसबेनसहित अष्ट्रेलियाका प्रमुख शहरहरुमा नेपालीको बसोबास बढ्दै जाँदा नेपाली चाडले विस्तारै यहाँको बहुसांस्कृतिक समाजमा आफ्नै पहिचान बनाउँदै गएको ठान्छन् । उनी भन्छन्, “पहिले विदेशमा आँशुमा डुबेर देशको दशैं रमाइलोको सम्झना गरिन्थ्यो । अहिले त नेपालमै जस्तो भव्य दशैं यहाँ पनि हुन थालेको छ ।” यति मात्र होइन, दशैंको बेला यहाँको विपक्षी दल लेबर पार्टीका प्रमुख बिल सोर्टनले नेपालीरुलाई शुभकामना सन्देश पठाए । उता साउथ अष्ट्रेलियाको संसदमै दशैंको अवसर पारेर जलपानसहित जमघटको निम्तोले पनि यस पटक अर्कै रौनक बढाएको छ ।
दशैं भन्ने वित्तिकै सबैले नवदुर्गाको पूजा, पारिवारिक जमघट र खसीको मासु सम्झन्छन् । यस पटक अधिकांश नेपाली ग्रोसरीहरुले दशैंको बेला खसीको मासु बिक्री गरेर पनि दशैंलाई थप रमाइलो बनाउन मद्दत गरे । यस्तै दशैंको अवसर नै पारेर विभिन्न ठाउँका स्थानीय सामूदायिक संघ संस्थाले मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेर यहाँ हुर्कदै गरेको दोश्रो पुस्ताका लागि नेपाली मूल्य, मान्यता र दशैंको महत्व दर्शाउने कोसीस समेत गरे । नेपाल र अष्ट्रेलियाको बीचमा ५ घण्टा १५ मिनेटको समय फरक छ । शनिबार नेपालमा टीकाको रौनक सुरु हुँदा नहुँदै अष्ट्रेलियामा भने टीका लगाईसकेका थिए । सामाजिक सञ्जालमा रंगीएको टीकाको दृश्यहरुले यही कुरालाई उजागर गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?