एनआरएन आईसीसी महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिने रञ्जु वाग्लेको घोषणा


एनआरएनको विश्व सम्मेलन आगामी १४ अक्टोबरबाट काठमाडौंमा हुँदैछ । यसैक्रममा आगामी कार्यकालको लागि उम्मेद्वारी घोषणा गर्ने क्रम पनि जारी छ । एनआरएनकी वर्तमान प्रवक्ता रञ्जु वाग्ले थापाले महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । एक वक्तव्य जारी गर्दै वर्तमान प्रवक्ता समेत रहेकी वाग्लेले आफ्नो उम्मेद्वारीको औचित्य प्रष्ट्याउन खोजेकी छिन् । वाग्लेका अनुसार यो उम्मेद्वारी वर्तमान कार्यसमितिमा रहेर भूकम्प पीडितको उद्धार, राहतमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी वाग्लेले अहिलेका कामको निरन्तरताको लागि आफु अघि आएको बताएकी छिन् । चुनावी एजेन्डाभन्दा पनि महिला उपाध्यक्षका रुपमा आफूमाथि आइपर्ने जिम्मेवारीहरुलाई कुशलतापूर्वक निर्वाह गर्ने मेरो चाहना हो । मैले कसरी काम गर्छु भन्ने सबैलाई थाहा छ । मूल नेतृत्वको भिजनलाई सफल रुपमा कार्यान्वयन गर्ने र एनआरएनमा महिला नेतृत्वको विकासमा योगदान दिने मेरो चाहना छ, वाग्लेले बताइन् । विदेशमा रहेका नेपाली महिलाहरुको समस्याहरुलाई समाधान गर्ने, रोजगारीको सिलसिलामा आइपर्ने समस्या समाधानका लागि नेपाल सरकाससँग पहल गर्ने कार्य पनि आफ्नो प्राथमिकतामा रहेको वाग्लेको भनाई छ । त्यस्तै लाप्राकमा बन्दै गरेको भूकम्प पीडितको घर बनाउने परियोजनाको पूर्णता, एनआरएन भवनको पूर्णता र भिजन २०२० को कार्यान्वयनलाई केन्द्रमा राखेर आफुले उम्मेद्वारी दिएको उपाध्यक्ष पदकी उम्मेद्वार रञ्जु वाग्लेले बताएकी छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?