पहिलो पटक साउथ अष्ट्रेलियाको संसदमा दशैं मनाइँदै


साउथ अष्ट्रेलियाको संसदमा यस वर्ष दशैं विशेष कार्यक्रम आयोजना हुने भएको छ । साउथ अष्ट्रेलियाको एडिलेडमा अवस्थित संसद भवनमा आगामी पाँच अक्टोबरको दिन  उपल्लो सदनका अध्यक्ष रशेल वाट्ली र मेम्बर फोर टोरेन्स डाना वाट्लीले सबै नेपालीलाई शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै निमन्त्रणा पठाएका छन् । दिउँसो ३ बजेदेखि ४:३० बजेसम्म चल्ने यो कार्यक्रममा नेपाली समूदायका सदस्यका साथै साउथ अष्ट्रेलियाको सांसदहरु पनि सहभागी बन्नेछन् । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं साउथ अष्ट्रेलियाका संयोजक अशोक केसीले पहिलो पटक यस किसिमको सम्मान राज्यको तर्फबाट नेपाली समूदायलाई मिलेको प्रतिक्रिया दिए । उनले भने, “साउथ अष्ट्रेलियामा बढ्दो नेपालीको उपस्थितिको सम्मान पनि हो भन्ने लाग्छ । नेपाली समूदायलाई यहाँको मूल राजनीतिक नेतृत्वले दिएको यो महत्व पक्कै पनि खुशीको कुरा हो ।” स्मरणीय छ, एनआरएन अष्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सवमा पनि उच्चस्तरीय राजनीतिक सहभागिता रहेको थियो । नेपाली समूदायले यहाँ हासिल गरेको प्रतिष्ठाका रुपमा यसलाई हेरिएको छ । अष्ट्रेलियामा नेपाली समूदायलाई ईमान्दार र गोर्खाली जातिका रुपमा लिने गरिएको छ । कुनै समयमा बेलायतबाट शासित रहेको यो देशमा गोर्खालीहरुलाई ठूलो सम्मान दिने गरिन्छ । यसबाहेक पनि बहुसांस्कृतिक अष्ट्रेलियाको समाजलाई विश्वमै उदाहरणीय रुपमा लिने गरिन्छ । यसअघि दक्षिण एशियाकै अन्य समूदायसँगै मिसाएर नेपाली चाडहरुलाई पनि लिने गरिएकोमा नेपालीहरुको लागि नै छुट्टै दशैंको अवसर पारेर शुभकामना आदान प्रदानका लागि संसद भवनमा बोलाइएको भने यो पहिलो अवसर हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?