भेडाको मासुको विज्ञापनमा हिन्दू भगवान प्रयोग भएकोमा विरोध जारी


अष्ट्रेलियाको एक ल्याम्ब कम्पनीले आफ्नो विज्ञापनमा हिन्दूका देवताहरुलाई अप्रासंगिक रुपमा प्रस्तुत गरेको र यसले हिन्दूहरुको भावनामा चोट पुगेको भन्दै यसको विरोध गर्ने क्रम जारी नै छ । यसैक्रममा आईतबार हिन्दू काउन्सिल अफ अष्ट्रेलियाले शान्तिपूर्ण विरोधको आयोजना गरेको छ । उक्त प्रदर्शनमा सिड्नीमा रहेका नेपालीहरु पनि सहभागी बने । कार्यक्रममा सहभागी बनेका युवा व्यवसायी विनोद पौडेलले बिज्ञापनमा गणेश भगवानसँंगै बुद्ध भगवानको पनि चरितार्थ गरिएको छ तर बुद्धका अहिंसाबादी अनुयाइ र जन्मथलो नेपाली समाजले पनि यसको विरोधमा आवाज उठाउनु जरुरी भएको बताए । शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकाहरुले प्लेकार्ड बोक्दै विज्ञापन बन्द गर्न र अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको भावनालाई कदर गर्न आग्रह गरेका थिए । धर्मको विषयलाई हल्का रुपमा नलिन र यसले अन्य समूदायको भावनामा चोट पुग्ने कुराको ख्याल गर्न पनि सहभागीहरुले माग गरेका छन् । नेपाल लामो समयदेखि हिन्दू राष्ट्र रहेपनि हालैका दिनमा धर्मनिरपेक्ष राष्ट्र बनेको छ । यद्यपि, नेपालमा बसोबास गर्ने धेरै ठूलो संख्या हिन्दू नै छन् । उनीहरुको हितमा नेपालको सरकारले बोल्न नसकेको आरोप पनि सहभागीहरुको थियो । स्मरणीय छ, यसअघि भारतले अष्ट्रेलियामा देखाइएको यस्तो विज्ञापनले हिन्दूको भावनामा मात्र चोट पुर्याएको नभई भारतमै पनि अशान्ति फैलिनसक्ने कुरालाई ध्यान दिँदै विज्ञापन बन्द गर्न औपचारिक रुपमा नै अष्ट्रेलिया सरकारलाई पत्र पठाइसकेको छ । के छ त विज्ञापनमा ? यो हेर्नुहोस् –

https://www.youtube.com/watch?v=n9UnNq9srog

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?