नेपाली झण्डा फहराएको जहाजमा चढेर मेलबर्नमा दशैंको स्वागत


चितवन समाज भिक्टोरियाको आयोजनामा दशैं शुभकामना क्रुज पार्टी सम्पन्न भएको छ । आईतबार स्थानीय डकल्याण्डबाट सुरु भएको यो क्रुज पार्टी ४ घण्टासम्म चलेको थियो । पानीमाथि जहाजमा विभिन्न नेपाली गीत संगीतको तालमा र नेपाली खानाको परिकारका साथमा करिब तीन सय भिक्टोरियावासीले एक आपसमा शुभकामना साटासाट गरे । चितवन समाजले दोश्रो पटक आयोजना गरेको क्रुज पार्टीलाई आगामी दिनमा पनि निरन्तरता दिने समाजका अध्यक्ष सोम गुरुङले उक्त अवसरमा बताए । उनले उपस्थित सबैलाई दशेंको शुभकामना दिँदै नेपालभन्दा टाढा यसरी एकताबद्ध भएर दशैं मनाउँदा आफ्नै गाउँ ठाउँको झल्को आउने पनि धारणा राखे । नेपाली झण्डा फहराएको जहाजमा दशैं तिहारलाई स्वागत गर्न पाउँदा सहभागीहरु उत्साही देखिएका थिए । लार्न ग्रुपको मुख्य प्रायोजनमा भएको कार्यक्रममा बोल्दै ग्रुपका रमेश छतकुलीले चितवन समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाएकोमा आफुलाई खुशी लागेको बताएका थिए । कार्यक्रममा अन्य प्रायोजनक र सहयोगीहरुलाई सम्मान गरिएको थियो । छोटो औपचारिक कार्यक्रमको सञ्चालन चितवन समाजकै अनुपम शायरले गरेका थिए भने समाजका संस्थापक अध्यक्ष अनन्त पौडेल र चितवन समाजका मानार्थ सदस्य एवं एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेलाई पनि सम्मान गरिएको थियो । चितवन समाज नेपालमा चितवन जिल्लामा घर भई अष्ट्रेलियाका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको संस्था हो । चितवन समाज भिक्टोरियाले पनि विविध सामाजिक कामहरुमा आफुलाई अग्रणी रुपमा प्रस्तुत गर्दै आएको छ । यसअघि चितवन समाज भिक्टोरियाले नेपालमा बाढी पहिरो पीडितका लागि एनआरएन अष्ट्रेलिया मार्फत एक हजार पाँच डलर सहयोग गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?