एनआरएन विश्व सम्मेलन : महिला संयोजकमा भोमा लिम्बुको उम्मेद्वारी घोषणा


गैरआवासीय नेपाली संघको काठमाडौंमा हुन लागेको विश्व सम्मेलनबाट आगामी कार्यकालको लागि महिला संयोजकमा अष्ट्रेलियाकी भोमा लिम्बुले उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । एक विज्ञप्ति प्रकाशित गर्दै लिम्बुले आफ्नो उम्मेद्वारी दिने बताएकी हुन् । एमएनटीभीसँग कुरा गर्दै लिम्बुले आफुले हाम्रो अभियान महिला सशक्तिकरणको नारालाई अघि बढाउने बताइन् । उनले भनिन्, “गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको १५ बर्ष पुरा गर्दै ७७ देशमा सञ्जाल विस्तार गरिसकेको छ । यति धेरै देशमा एनआरएनएको सञ्जाल बढेको भएता पनि महिलाहरुको उल्लेख्य सहभागिता हुन सकेको छैन । यसका पछाडि थुप्रै कारणहरु रहेका छन । यी समस्याहरुलाई नजिकबाट बुझ्दै मैले उम्मेद्वारी दिने घोषण गरेकी हुँ ।”
एनआरएनका गतिविधिमा अग्रणी मोर्चामा रहेर कार्यरत रहेकी लिम्बुले मुख्यतः नेपालमा भूकम्प गएको बेला स्वास्थ्य शिविर सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् । अष्ट्रेलियामै पनि विभिन्न सामाजिक कार्यमा क्रियाशील उनी मिष्टर एण्ड मिस नेपाल अष्ट्रेलियाको मुख्य योजनाकार मानिन्छिन् । यो कार्यक्रमले युवा सशक्तिकरणलाई जोड दिएको छ । वर्तमान आईसीसी सदस्य रहेकी लिम्बुले मुख्य जिम्मेवारीमै रहेर एनआरएनमा योगदान दिने चाहेकोले उम्मेद्वारी दिएको स्पष्ट पारेकी छिन् । उनी सन् २००६ मा साँस्कृतिक राजदूतको उपाधी, २००९ मा भोलियन्टर अफ दि इयरमा मनोनित, २०१७ मा एनआरएनए अष्ट्रेलिया कम्यूनिटि सर्भिस पर्सनालिटी अफ द इयर अवार्डबाट सम्मानित भइसकेकी छिन् । एनआरएन अष्ट्रेलियाको सचिव रहेर कार्यरत भइसकेकी उनी उपाध्यक्ष समेत भइन् सन् २००९ मा । सन् २०११ मा आईसीसी सदस्य, २०१३ मा ओसेनिया उपसंयोजक र वर्तमानमा आईसीसी सदस्यको रुपमा कार्यरत लिम्बु अष्ट्रेलियाका विभिन्न सामाजिक संघ संस्थामा सल्लाहकारको भूमिकामा पनि छिन् । आफ्ना योजनाहरु सार्वजनिक गर्दै भोमा लिम्बुले खाडी तथा अन्य देशमा रोजगारीको सिलसिलामा गएका महिलाहरुको समस्या पहिचान गरी तिनको समाधान गर्ने प्रमुख एजेन्डा भएको बताएकी छिन् । यसैगरी आफु पेशाले नर्स भएका कारण नेपालमा स्वास्थ्य शिविरहरु, स्वास्थ्यसँग सम्बन्धित सेमिनार तथा तालिम सञ्चालन गरेर अष्ट्रेलियामा आर्जन गरेको शिपलाई नेपालमा लैजाने पनि उनको लक्ष्य छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?