अष्ट्रेलियाका भीम न्यौपाने र नायिका ऋचा शर्माले चलचित्र ‘सुनकेशरी’ बनाउँदै, दशैंअघि शुटिंग सकिने


अष्ट्रेलिया निवासी नेपाली चलचित्रका निर्माता एवं कलाकार भीम न्यौपाने र नायिका ऋचा शर्माको संयुक्त निर्माणमा चलचित्र सुनकेशरी बन्ने भएको छ । आईतबार अष्ट्रेलियाको सिड्नीस्थित रकडेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अहिले धमाधम छायाँकन भइरहेको चलचित्रमा स्वयं नायिका ऋचा शर्माले समेत अभिनय गर्नेछिन् । उनलाई रविन्द्र झा, सन्नी ढकाल, भीम न्यौपानेले साथ दिनेछन् । चलचित्रको निर्देशन अर्पण थापाले गर्नेछन् भने कार्यकारी निर्माताका रुपमा मनोज अधिकारीले निर्माणको पक्षलाई सम्हाल्नेछन् । अधिकारी सिड्नीमै रहेर नेपाली चलचित्रकर्ममा सक्रिय रहँदै आएका छन् । अष्ट्रेलिया निवासी शर्मिला सापकोटा र धर्मराज अधिकारीको सहनिर्माण रहेको चलचित्र हरर जेनराको भएको पनि उक्त अवसरमा जानकारी गराइयो । अष्ट्रेलियावासी नेपालीको लगानीमा बन्न लागेको यो चलचित्रको सम्पूर्ण प्राविधिक पक्ष हलिउड र अष्ट्रेलियन फिल्म उद्योगमा काम गरिरहेका व्यक्तिहरुले हेर्ने जानकारी निर्माता भीम न्यौपानेले दिनुभयो । पत्रकार सम्मेलनमा निर्देशक अर्पण थापाले चलचित्र सन् १८८० मा निर्माण गरिएको एउटा अष्ट्रेलियन दरबार बुटिक होटलमा परिणत हुने क्रममा कथाका पात्र सुनकेसरी, रुपेन र एमाले हो पहिलो गेष्ट हुन पुग्छन् । होटलभित्र यी तीन पात्रहरुसँग भूतप्रेतको चहलपहलसँग हुने जीवन मरणको संघर्ष कथा नै सुनकेशरी भएको जानकारी दिए । चलचित्रका कार्यकारी निर्माता मनोज अधिकारीले दशैं अघि नै सम्पूर्ण छायाँकनको काम सकाउने उद्देश्य राखिएको र सन् २०१८ को मध्यसम्ममा नेपालसहित विश्वभर रिलिज गरिने जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?