संयक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री महरा न्युयोर्क प्रस्थान


उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा आज साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि परराष्ट्र मन्त्री महरा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ३ गते न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ । परराष्ट्र मन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नुुहुनेछ । उहाँले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नुहुनेछ । उहाँले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । न्यूयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरेसद्वारा आयोजित दिवाभोजमा सहभागी हुनुहुने कार्यक्रम छ ।
उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्र्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनुहुनेछ ।
उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नुहुनेछ । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?