बाढी पीडितका लागि एनआरएन अष्ट्रेलियाले संकलन गर्यो ५० हजार डलर सहयोग, दोश्रो किस्ता पनि पठाइदै


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालका बाढी पहिरो पीडितका लागि ५० हजार डलरभन्दा बढी सहयोग संकलन गरेको छ । अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका साथै व्यक्तिगत तवरमा पनि एनआरएनमार्फत सहयोग गर्नेहरुबाट उठाइएकोमध्ये २५ हजार यसअघि नै अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपालमा पठाइसकिएको छ । “बाँकी संकलित सहयोग रकम पनि हामी छिट्टै नेपालमा बाढी पीडितको लागि आईसीसी मार्फत पठाउँदैछौं”, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले एमएनटीभीसँग भने । हालका लागि बाढी पीडितको निम्ति सुरु गरिएको सहयोग संकलन कार्य स्थगित गरिएको छ । उनले भने, “हामी यस क्रममा विभिन्न संघ संस्थाले एनआरएनलाई दिनुभएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दछौं । अष्ट्रेलियावासी नेपालीले जहिल्यै पनि नेपालमा विपद परेको समयमा मुठी खोलेर सहयोग गर्दै आउनुभएको छ । यस पटक पनि यो सहयोगको क्रमलाई कायम राख्नुभयो । यसका लागि धेरै धन्यवाद छ । हामी उहाँहरुले गर्नुभएको सहयोगलाई पारदर्शी रुपमा नेपालमा पीडितहरुसम्म लैजानेछौं ।” संस्थागत रुपमा एनआरएन अष्ट्रेलियालाई सहयोग दिनेहरुमा चितवन समाज भिक्टोरिया, गुल्मी समाज भिक्टोरिया, नेपाल जनप्रगतिशील मञ्च अष्ट्रेलिया, रुपन्देही समाज, गोर्खा समाज, नर्दन विच नेप्लीज एशोसिएसन, गल्कोट समाज, डब्बो नेप्लीज एशोसिएसन, नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया, सगरमाथा क्रिकेट क्लब मेलबर्न लगायत छन् । बाढी प्रभावित केही जिल्लाका अष्ट्रेलियास्थित समाजहरुले भने आफ्नै तवरमा सहयोग संकलन गरे राहत वितरण गरेका थिए । अन्य संघसंस्थाले भने गैरआवासीय नेपाली संघ मार्फत नै सहयोग अघि बढाएका हुन् । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सञ्चालन गरेको राहत कार्यक्रमका लागि २ करोडभन्दा बढी सहयोग जुटिसकेका छ । नेपाल सरकारले सप्तरी जिल्लामा राहत वितरण गर्नका लािग एनआरएनलाई स्वीकृत दिएकोमा पहिलो चरणमा राहत वितरण भइसकेको छ भने विभिन्न ठाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।

Donors List : http://nrn.org.au/uploads/pdfs/flood_donor_list.pdf

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?