पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सिड्नी आउँदै, दक्षिण एशियाको राजनीतिक अर्थशास्त्रबारे प्रवचन दिने


पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई अष्ट्रेलिया आउनुहुने भएको छ । तीन दिनका लागि आउनुहुने डा. भट्टराईले उक्त क्रममा नेपालको पछिल्लो राजनीतिक विकासक्रम र दक्षिण एशियाको राजनीतिक अर्थशास्त्र विषयमा अन्तरक्रिया गर्नुहुने भएको छ । उक्त पार्टीसँग निकट अन्तर्राष्ट्रिय नेपाली समाजका अष्ट्रेलिया अध्यक्ष सुवान चौलागाईंले एक विज्ञप्ति प्रकाशित गरी जनाए अनुसार २१ सेप्टेम्बरमा आउनुहुने पूर्वप्रधानमन्त्री डा. भट्टराईले २२ तारिख युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको एक कार्यक्रममा दक्षिण एशियाको राजनीतिक अर्थशास्त्र विषयमा आफ्नो प्रवचन दिनुहुनेछ । यसैगरी उक्त युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुसँग पनि सोही दिन अन्तरक्रिया गर्ने र अष्ट्रेलियाका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने निधो भएको विज्ञप्तिमा जनाइएको छ । डा. भट्टराईले युटिएस भवनको भूकम्प प्रतिरोधात्मक मोडलको अवलोकन समेत गर्नुहुनेछ । सेप्टेम्बर २३ मा सिड्नीमा रहेको नेपाली समूदायसँग पूर्वप्रधानमन्त्री डा. भट्टराईले अन्तरक्रिया गर्ने कार्यक्रम छ । उहाँको साथमा युनिभर्सिटी अफ न्यूसाउथवेल्सका प्रोफेसर एन्थोनी जोई पनि सहभागी हुनेछन् । यता अष्ट्रेलियामा डा. बाबुराम भट्टराईको भ्रमणको तयारी चलिरहेको छ भने उता नेपालमा आईतबार प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग गर्दै नयाँ शक्ति नेपाल पार्टीले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेको छ । प्रदर्शनमा प्रत्यक्ष कार्यकारी प्रमुख भएको शासन व्यवस्थाले मात्र राजनीतिक स्थिरता हुने भन्दै नयाँ शक्तिले प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘समृद्धि र सुशासनको आधार जनताद्वारा प्रत्यक्ष निर्वाचित सरकार’, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतीय प्रणालीको लागू गरौँ’ जस्ता नारासहित नयाँ शक्तिका कार्यकर्ताले अपराह्न ३ देखि ५ बजेसम प्रदर्शन गरेका थिए । कार्यक्रममा नयाँ शक्ति नेपालका नेता नवराज सुवेदी, नायिका तथा नेत्री करिश्मा मानन्धर, डम्बर खतिवडालगायतको सहभागिता रहेको नयाँ शक्ति विद्यार्थी युनियनका प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?