दूतावासले अष्ट्रेलियाका नेपाली विद्यार्थीहरुका लागि कल्याणकारी कार्यक्रम ल्याउँदै


नेपाली दूतावास क्यानबेराले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गरी कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार क्यानबेरामा आयोजना गरिएको अष्ट्रेलियाभरका महावाणिज्यदूत र वाणिज्यदूतहरुसँग दिनभरको छलफलपछि यो निर्णय गरिएको हो । अन्तरक्रियामा महावाणिज्यदूतहरुले राजदूत लक्की शेर्पालाई अहिलेसम्म भएका कार्यहरुको विवरण प्रस्तुत गर्दै आफ्नो शहरमा के कस्ता सम्भावना र चुनौतीहरु छन् भन्ने विषय अवगत गराएका थिए । अष्ट्रेलियामा रहेका नेपालीलाई नेपाल सरकारको तर्फबाट दिइने सुविधाहरु कसरी सहज रुपमा प्रदान गर्न सकिन्छ र यहाँको समाजबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा नै छलफल केन्द्रित थियो । भेलाले नेपाल र अष्ट्रेलियाबीच आर्थिक सम्बन्ध अझ विस्तार गर्नका लागि वाणिज्यदूतावासहरुमा नेपाल अष्ट्रेलिया ट्रेड एण्ड कमर्स टीम स्थापना गर्ने निर्णय गरेको छ । यस्तै उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुको रोजाईमा पर्दै आएको अष्ट्रेलियामा समस्या पनि विद्यार्थीहरुलाई नै बढी पर्ने भएका कारण दूतावासले विद्यार्थी कल्याणकारी कार्यक्रम ल्याउने भएको छ । यसमा शैक्षिक परामर्शदाता र गैरआवासीय नेपाली संघ अष्ट्रेलियासँग सहकार्य गर्ने निर्णय पनि भएको छ । नेपाल र अष्ट्रेलियाबीचको व्यापार घाटा कम गर्न र नेपाली सामानलाई स्थानीय तहमा प्रबद्र्धन गर्न हरेक वर्ष विभिन्न शहरमा आर्थिक सम्मेलन गर्ने निर्णय पनि भेलाले गरेको छ । यस्तै भेलाले दुई देशका विभिन्न शहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने, खेल कुटनीतिको माध्यमबाट दुई देशको सम्बन्धलाई जनस्तरमा लैजाने, दुई देशबीच सांस्कृतिक कार्यक्रमहरुको आदानप्रदान गर्ने, दुई देशबीच उच्चस्तरीय राजनीतिक, शैक्षिक, व्यापारिक भ्रमणहरु आदानप्रदानका लागि पहल गर्ने लगायतका निर्णय गरेको छ । भेलामा सहभागी हुन सबै महावाणिज्यदूत र वाणिज्यदूतहरु क्यानबेरा पुगेका थिए । भेलामा न्यूसाउथवेल्सका अवैतनिक महावाणिज्यदूत दिपक खड्का, भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जन, साउथ अष्ट्रेलियाका वाणिज्यदूत दिपक धमला, वेष्टर्न अष्ट्रेलियाका वाणिज्यदूत फ्रेडरिक निल ब्राउन, क्वीन्सल्याण्डका वाणिज्यदूत जोशेफ एन्थोनी टुमा सहभागी भएका थिए । कार्यक्रममा राजदूत शेर्पाले महावाणिज्यदूत र वाणिज्यदूतहरुले गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी क्रियाशील हुन निर्देशन दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?