एनआरएन अष्ट्रेलियाले बनायो ६ वटा टास्क फोर्स, कार्यसमिति सदस्य मनोनयन भएन


नवनिर्वाचित गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न ६ वटा टास्क फोर्स बनाउने निर्णय गरेको छ भने पहिलो बैठकबाट हुने अपेक्षा गरिएको मनोनित सदस्य थप्ने कार्य भने स्थगित भएको छ । विभिन्न कोण र क्षेत्रबाट आएको दबाबका कारण सदस्य थप्ने कार्य अहिलेलाई रोकिएको हो । बैठकका निर्णयबारे जानकारी गराउँदै एनआरएन अष्ट्रेलियाका महासचिव नारायण कोइरालाले भने, “बैठकमा सदस्य मनोनयनको कुरा पनि आएको हो । तर, अध्यक्षले यसलाई पछि गर्ने भनेर हामी अन्य एजेन्डामा प्रवेश गर्यौं ।” महासचिव कोइरालाका अनुसार यस पटकको पहिलो बैठकले अष्ट्रेलियाव्यापी ईमर्जेन्सी रेस्पोन्स टिम बनाउने निर्णय गरेको छ । जसमा दूतावास र महावाणिज्यदूतको कार्यालयहरुसँग पनि सहकार्य गर्ने योजना एनआरएनको छ । यस्तो रेस्पोन्स टिमले गर्ने काम र अधिकारका विषयमा गृहकार्य आवश्यक भएकोले उपाध्यक्ष केशव कँडेल, महासचिव नारायण कोइराला र प्रतिज्ञा अधिकारी रहेको टोलीले कार्यविधि बनाउने तय भएको छ । यसैगरी बैठकले सदस्यतामा देखिएको विवादलाई समाधान गर्नका लागि विवेक थापाको संयोजकत्वमा भीम सुब्बा, शिशिर वास्ताकोटी, निराजन गौली, गीता लम्साल, नवीन सागर शर्मा, दिनेश अधिकारी, सुरेश रेग्मी, दिपक तिवारी रहेको टास्क फोर्स बनाएको छ । टास्कफोर्सले सदस्यता सम्बन्धी विवादहरुको निरुपणका लागि यो कार्यकालभरि नै काम गर्नेछ ।
महासचिव नारायण कोइरालाका अनुसार बैठकले नेपाली पाठशाला टास्क फोर्स बनाउने निर्णय पनि गरेको छ । जसमा अष्ट्रेलियाभरि रहेका नेपाली भाषा पढाई हुने विद्यालयहरुलाई एकताबद्ध गर्दै पाठ्यक्रम विकास लगायतका क्षेत्रमा काम गर्नेछ । जसको संयोजक नारायण कोइराला छन् भने उपसंयोजकमा सुदिप कार्की, गीता लम्साल, उगेन्द्र रेग्मी र सुरेश रेग्मी सदस्य छन् । अन्य सदस्य थप्दै यसले नेपाली भाषाको पढाईलाई व्यवस्थित बनाउने र दोश्रो पुस्ताका लागि काम गर्नेछ । यस्तै बैठकले राजेश बुढाथोकीको संयोजकत्वमा नेपाली भाषा र साहित्य टास्क फोर्स, अध्यक्ष टोनु घोतानेको संयोजकत्वमा एक नेपाली एक घण्टा टास्क फोर्स बनाएको छ भने चुनावमा गरिएको वाचा अनुरुप एनआरएन अष्ट्रेलियाका सदस्यहरुलाई सहुलियत कार्ड दिनका लागि अध्ययन गरी अर्को बैठकमा पेश गर्ने जिम्मेवारी सचिव देव गुरुंगलाई दिइएको छ । यसैगरी बैठकले एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौंमा सहभागी हुन जाने प्रतिनिधिहरुको लागि प्रतिव्यक्ति ३ सय डलर शुल्क तोक्ने निर्णय समेत गरेको छ भने प्रतिनिधिहरुको छनोटका लागि अध्यक्ष घाताने, महासचिव नारायण कोइराला र अच्युत शर्मा रहेको तीन सदस्यीय टोली बनाइएको छ ।
विशेष अधिवेशन जनवरीमा 
यसैबीच, एनआरएन अष्ट्रेलियाको पहिलो बैठकले विधान संशोधन र विशेष अधिवेशन सम्बन्धमा निर्णय गर्दै अध्यक्ष टोनु घोतानेको संयोजकत्वमा एनआरएनका सबै पूर्वअध्यक्षहरु, अधिवक्ता शमशेर थापा, भरत पोखरेल, जानकी पौडेल, प्रतिज्ञा अधिकारी, मीना शर्मा, बबिता श्रेष्ठ, धर्मराज अधिकारी, दिपा राई, भरत नेपाल र सबै स्टेट कोअर्डिटेर सहितको टोली बनाएको छ । यस टोलीले आगामी ३० नोभेम्बरभित्र विधानमा गर्न लागिएको संशोधनका सम्बन्धमा ड्राफ्ट बुझाउनेछ भने त्यसलाई विभिन्न चरणको छलफलपछि १३ जनवरी २०१८ मा हुने विशेष अधिवेशनमार्फत संशोधन गरिने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?