रंगीन बन्यो आईतबार, विपुल क्षेत्री र अल्ब्राटोसको कन्सर्टमा झुमे मेलबर्नवासी


सोलाङचरको आयोजनामा आईतबार युफोनिक कन्सर्ट सम्पन्न भएको छ । कन्सर्टको मुख्य आकर्षणको रुपमा रहेका विपुल क्षेत्रीले करिब डेढ घण्टा आफ्ना नयाँ पुराना हिट नम्बरहरु मेलबर्नवासीका सामू प्रस्तुत गरिरहँदा ठूलो संख्यामा उपस्थित भएका दर्शकहरु झुमिरहेका थिए । मेलबर्न सिटीस्थित बिलवर्ड द भेन्यूमा आयोजना गरिएको कन्सर्टमा उत्कृष्ट लाईलिङ र स्तरीय अडियो सिष्टममा एल्बाट्रोसले पनि यसैगरी एक घण्टाभन्दा बढी आफ्ना प्रस्तुति दर्शकसामू राखेका थिए । अधिकांश युवाहरुको उपस्थिति रहेको कन्सर्टमा अल्ब्राट्रोसका गीतसँगै नाच्दै आफैं पनि गीत गाइरहेका युवाहरुमाझ उनीहरुको गीतको लोकप्रियता प्रष्ट देखिन्थ्यो । यसपछि स्टेजमा आएका विपुल क्षेत्रीले सिन्डीकेटदेखि लिएर आफ्नो नयाँ गीत पनि गाए । उनी उत्साही भएर बिचबिचमा भनिरहेका थिए ‘मेलबर्न यु आर एमेजिङ’ । हुनतः मेलबर्नले विपुल क्षेत्रीलाई यसरी स्वागत गरेको यो दोश्रो पटक थियो । कार्यक्रमको आयोजक सोलाङचरका निर्देशक राजु शाक्य भन्छन्, “त्यतिबेला को हो विपुल क्षेत्री भन्ने कुरा धेरैलाई थाहा थिएन । त्यतिबेला हेर्न छुटाएकाहरुले यो अवसर प्राप्त गरे र त्यसको सदुपयोग गरे ।” वास्तवमै मेलबर्नमा हुने हरेक कार्यक्रममा आउनेभन्दा भिन्दै भीड यहाँ देखिन्थ्यो । युफोनिक कन्सर्टमा नेपालमा हालै गएको बाढी पीडितका लागि सहयोग संकलन पनि गरिएको थियो । जसमा ४ सय ७५ डलर संकलन भएको थियो भने सहयोगमा त्यति नै थपेर एनआरएनमार्फत सोलाङचरले ९ सय ५० डलर राहत कोषमा दिने भएको छ । कार्यक्रमको प्रायोजन एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?