बाढीपीडित क्षेत्रमा मृतकलाई पाँच लाख दिनुपर्ने राजेन्द्र महतोको माग


राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले बाढी पहिरोमा परी मृत्यु भएका प्रतिव्यक्तिलाई जनही रु पाँच लाख सरकारले दिनुपर्ने माग गर्नुभएको छ । बाढीपीडितको अवस्थाबारे जानकारी लिन र स्थलगत निरीक्षण गर्न सप्तरीको राजविराजमा आउनुभएका अध्यक्ष महतोले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले बाढी पहिरोमा परी मृत्यु भएका प्रतिव्यक्तिलाई जनही रु दुई लाख दिने घोषणा गरेको रकम अत्यन्त कम भएको बताउनुभयो । सरकारले भूकम्पपीडितलाई आवासलगायतका अन्य सुविधा दिए जस्तै मधेशका बाढीपीडित जनतालाई पनि सुरक्षित बसोबासका साथै भवन निर्माणमा सहयोग गर्न उहाँले माग गर्नुभयो । अध्यक्ष महतोले बाढी पहिरोमा परेकाहरुको अवस्था अत्यन्त नाजुक रहेकाले अविलम्ब खाद्यान्न, लत्ताकपडा, त्रिपाल र औषधि उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । अध्यक्ष महतोले सप्तरीमा बाढीबाट प्रभावित मलेठ, राजविराज ५, १२, २ वडा र देउरी भरुवा, रम्पुरा मलहनीया, सकरपुरा, इनरुवालगायतका बाढीपीडित क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?