भोलि न्याभको तीज मेला हुँदै, सुनीता दुलालले मेलबर्न तताउने


नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा शनिबार न्याभ तीज मेला २०१७ आयोजना हुँदैछ । नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर हरेक वर्षजस्तै यस वर्ष पनि न्याभले तीज मेला आयोजना गरेको हो । यसवर्ष न्याभले महिला अधिकार र लैंगिक समानताको नारा अघि सारेको छ । यसका लागि न्याभले ईन्टरनेशनल ओमन्स डेभलपमेन्ट एजेन्सी आईडब्लूडीएसँग सहकार्य गर्दै टिकटको रकमबाट केही सहयोग यो संस्थालाई समेत गर्ने भएको छ । यसले महिलाको उत्थान र विकासमा काम गर्दै गरेको उक्त एजेन्सी र नेपाली समूदायका महिलाबीचको सहकार्य अघि बढ्ने विश्वास न्याभले लिएको छ । स्थानीय थनवरी थियटरमा आयोजना हुन लागेको न्याभ तीज मेलामा गायिका सुनीता दुलालले आफ्नो प्रस्तुति दिने भएकी छिन् । नेपाली चर्चित लोकगीतका साथै तीज गीतमा पनि उपस्थित मेलबर्नवासी महिलाहरुलाई मनोरञ्जन दिने उनको तयारी छ । तीज मेला २०१७ को संयोजन न्याभको तर्फबाट उपाध्यक्ष रिसिका केसी, भवानी पौडेल र स्वेता बोहोराले गरिरहेका छन् । तीज मेलामा सुनीता दुलालको प्रस्तुतिसँगै फोटो सेसन, फेशन शो समेत गरिनेछ । नेपालमा हालै गएको बाढी पहिरोमा पीडित बनेकाहरुको सहयोगका लागि डोनेसन बक्स समेत राख्ने तयारी गरिएको न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले बताए । अघिल्लो वर्ष न्याभले आयोजना गरेको तीजमा ७ सयभन्दा बढी सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?