प्रधानमन्त्री पुगे मध्यपश्चिम र सुदूरपश्चिमका बाढी पीडितको आँगनमा, राहत वितरण


प्रधानमन्त्री शेरबहादुर देउवाले मध्य र सुदूरपश्चिमका तीन जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गर्नाका साथै  प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीले बाँकेको राप्ती सुनारी गाउँपालिकाको कमैया डाँडा, बर्दियाको कोठिया गाउँ र कैलालीको टीकापुरमा बाढीबाट विस्थापितसँग साक्षात्कार गरी राहत सामग्री वितरण गर्नुभएको हो । प्रधानमन्त्रीले  कमैयाडाँडामा बाढीबाट आफ्ना ११, नौ र सात वर्षका तीन छोरी गुमाएका कमिलाल थारुलाई रु छ लाखको चेक र राहत सामग्री हस्तान्तण गर्नुभयो । प्रधानमन्त्रीले देउवाले बाढीबाट धनजन गुमाएकाहरुलाई क्षतिपूर्ति रकम र घर बनाउन निश्चित रकम दिइने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल अस्थायी बासस्थानका लागि केही रकम निकासा गरिसकिएको छ, छिट्टै तपाईंहरुले पाउनुहुने छ ।”

यस्तै प्रधानमन्त्रीले बर्दियाको गुलरिया नगरपालिकाको बाढी प्रभावित वडा नं ८ को कोठिया गाउँमा पनि बाढी प्रभावितसँग साक्षात्कार गरी राहत वितरण गर्नुभएको छ । प्रधानमन्त्रीले बाढीको दीर्घकालीन र तात्कालीन समाधानका लागि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिनुभयो । सरकारले घाइतेको निःशुल्क उपचार  व्यवस्था गरेको बताउँदै उहाँले बाढीले घर बगाएकाहरुलाई पनि सरकारले निर्णय गरेर रकम निकासा गरिने छ भन्नुभयो ।  त्यस्तै टीकापुरमा पनि प्रधानमन्त्रीले पीडितसँग साक्षात्कार गरेर राहत वितरण गर्नुभयो । 

राहत, उद्धार र क्षतिपूर्तिका लागि निर्देशन

प्रधानमन्त्रीले मध्य र सुदूरपश्चिमका सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत क्षेत्रीय प्रशासक र प्रजिअलाई राहत, उद्धार र क्षतिपूर्ति वितरणमा कुनै कमजोरी नहुने गरी काम गर्न निर्देशन दिनुभएको छ । बाँकेको नेपालगन्जमा प्रभावित क्षेत्रको उद्धार र राहतमा खटिएका सुरक्षा निकायका अधिकारी र उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “प्राकृतिक विपत्तिमा परेकालाई कुनै गुनासो नआउने गरी काम गर्नुहोस् ।”

प्रधानमन्त्रीले  बाढीपीडितका लागि आवश्यक खाद्यान्न दिन,  उपचार गर्न तथासरुवा रोग लाग्न नदिन अहिले नै ध्यानमा राखी कार्यक्रम लागू गर्न पनि निर्देशन दिनुभयो । “राहतमा मैले कुनै गुनासो सुन्न नपरोस्”, प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरुले उहाँहरुको स्वास्थ्यलाई पनि ख्याल गरेर काम गर्नुहोस् ।”

बाढीपीडितको उचित व्यवस्थापन गरिनेछ – प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । बाँके, बर्दिया र कैलाली जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई तथा स्थलगत अवलोकन र पीडित परिवारलाई राहत वितरण गरी काठमाडौँ फर्कने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले बाढी प्रभावितको सुरक्षित बसोबास तथा जीविकोपार्जनलाई मुख्य प्राथमिकतामा राखेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकार यो विषयमा अत्यन्त संवेदनशील छ, बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक गृहकार्य थालनी गरिएको छ ।”

“बाढी प्रभावितको अवस्था अत्यन्त दयनीय छ, उनीहरुको आवश्यकता तत्कालको राहतले पूरा हुन सकेको छैन, यो कुरा सरकारले बुझेको छ, यसैका आधारमा सरकारबाट सबैखाले स्रोत र साधन परिचालन गरी पीडितको व्यवस्थापन छिटोभन्दा छिटो हुनेछ”, उहाँले भन्नुभयो । पत्रकार भेटघाटअघि प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले बाढी प्रभावितको समस्या उल्लेख गरिएको  दशबुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको छ ।  सो पत्रमा बाढीबाट विस्थापितको सुरक्षित बसोबास हुनुपर्ने, क्षतिग्रस्त पुल र  सडक तत्काल मर्मत गरिनुपर्ने, बाढी आउन नदिन नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध बाढीको कारक भएकाले सो विषयमा सरकारीस्तरबाट सम्बद्ध पक्षसँग वार्ता गरिनुपर्ने लगायत माग समेटिएका छन् । सोही अवसरमा बाँके जिल्लाको लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले छबुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?