न्यूसाउथवेल्सको स्थानीय चुनावमा श्रीनापितको उम्मेद्वारी, जित्नेमा ढुक्क


सिड्नीमा नेपाली समूदायका अगुवा श्री नापित स्थानीय चुनावमा उम्मेद्वार बनेका छन् । न्यूसाउथवेल्स राज्यको उल्लग्वी काउन्सिलको आगामी ९ सेप्टेम्बरमा हुन लागेको चुनावमा उनी नारेम्बर्न वडामा काउन्सिलरको उम्मेद्वार भएका हुन् । सो क्षेत्रमा विगत लामो समयदेखि बसोबास गर्दै आएका नापित लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष समेत हुन् । यसअघि एनआरएनको आईसीसी सल्लाहकार समेत रहेका नापित पेशाले आईटी विज्ञ हुन् । उनको टिममा जोभाना भिभान्को र डान हुवाङ पनि छन् । आफु स्थानीय बासिन्दाको आवाजको सही प्रतिनिधित्व गर्ने दावी गर्दै नापितले एमएनटीभीसँग भने, “मेरो छोराहरु यहीँ नर्थसोर अस्पतालमा जन्मिए । यही क्षेत्रमा हुर्किए । यहाँको समूदायसँग मेरो लामो लगाव छ ।” स्थानीय नर्थसिड्नी ब्वाईज हाईस्कुल प्यारेन्टस एण्ड सिटिजन एशोसिएसनको विगत दुई वर्षदेखि अध्यक्ष पद सम्हालीरहेका नापितको घर नेपालमा काठमाडौं  नःघल हो । सन् १९९५ मा अष्ट्रेलिया बसाई सरेर आएदेखि उनी यही क्षेत्रमा बसोबास गरिरहेका छन् । उनी भन्छन्, “मैले यहाँ धेरै परिवर्तन देखें । यहाँ विकासको पूर्वमूल्यांकन हुन नसक्दा स्थानीय बासिन्दाहरुलाई मर्का परेको पनि देखेको छु । ओभर ट्राफिक, पार्किंङको समस्या, ध्वनी प्रदूषण, वायु प्रदूषण सहित विभिन्न सार्वजनिक स्थलहरुको गुणस्तरमा पनि ध्यान दिनुपर्ने मुद्दाहरु छन् । कुनैपनि विकासअधि सही योजना र त्यसको पूर्वमूल्यांकन गरिनुपर्छ भन्ने मेरो भनाई हो ।” न्यूसाउथवेल्सको स्थानीय चुनावमा पहिलो पटक नेपाली मूलका उम्मेद्वारका रुपमा चुनावमा होमिएका उनको जित्ने आधार के हो ? उनको जवाफ छ, “मेरो जुन किसिमको प्रतिबद्धता र संलग्नता छ अनि अहिलेसम्मको भेटघाटमा पाएको रेस्पोन्सका आधारमा मैले जित्छु भन्ने लागेको छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?