झापाका बाढी पीडितलाई अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग, २४ घण्टामा जुट्यो ३० लाख


नेपालमा झापा जिल्ला घर भई विश्वभर छरिएर रहेका नेपालीहरुको संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आह्वान गरेको २४ घण्टाभित्रै ३० लाख सहयोग संकलन गरेको छ । संस्थाको तर्फबाट एक विज्ञप्ति प्रकाशित गर्दै समाजले अविरल वर्षाका कारण झापामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञप्ति अनुसार सहयोगको आवश्यकता परेको यो दुःखद घडीमा झापाली दाजुभाई दिदीबहिनीलाई राहत र उद्धार कार्यमा सहयोग गर्नका लागि आह्वान गरेको २४ घण्टाभित्रै ३० लाख सहयोग संकलन भइसकेको जनाएको छ । यसरी संकलन भएको रकमलाई स्थानीय रेडक्रस, सरकारी निकायसँगको सहकार्यमा वितरण गरिने भएको छ । पहिलो चरणमा जीवनयापनका लागि अत्यावश्यक खाद्यान्न लगायतका सामग्री वितरण गर्ने र दोश्रो चरणमा अति आवश्यक रहेको ठाउँमा स्थायी र अस्थायी बसोबासको प्रबन्ध गरिने भएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका संयोजक भवानी ओलीले विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै सहयोगका विषयमा जानकारी गराउनुभएको हो । ओलीले दोश्रो र तेश्रो चरणका लागि अझ बढी रकम आवश्यक पर्ने भएकोले अहिलेसम्म सहयोग नगर्नुभएका विश्वभरि छरिएर रहेका झापालीहरुलाई सहयोग गर्न आह्वान गर्नुभयो ।
यसैबीच, झपाली समाज अष्ट्रेलियाले पनि सहयोग आह्वान गरेको २४ घण्टामै ६ लाख रुपैयाँ सहयोग जुटाइसकेको जनाएको छ । कूल १० लाख सहयोग गर्ने लक्ष्य राखिएको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले जानकारी दिनुभयो । यसका लागि झापाली समाजको निम्न खातामा सहयोग जम्मा गर्न सकिनेछ
Ac : Jhapali Samaj Australia
BSB : 062443 AC No. 11119397
Ref : YOUR NAME + Flood Relief

संकलित सहयोग रकम मंगलबारबाट वितरण पनि सुरु गरिसकिएको छ । जस अनुसार मंगलबार साउन ३१ गते वारदशी गाउँ पालिकाको चकचकी र वारदशी क्षेत्रमा राहत विरण गरिएको थियो । जस अनुसार एक सय परिवारलाई प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, ५ किलो चिनी, ५ लिटर तेल र २ किलो नुनसहितको प्याकेज वितरण गरिएको थियो । यस वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संयोजक भवानी ओली, झापाली समाज युएई लगायतका देशमा बसोबास गर्ने झापालीसहरु सहभागी थिए । अब अर्को चरणमा स्थायी र स्थायी बासस्थानको प्रबन्ध गर्ने तयारी भएको छ । झापामा हालसम्म बाढीबाट एघार जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता रहेको नेपाल रेडक्रस सोसाईटी झापा शाखाले जनाएको छ । मृत्यु हुनेहरुमा झापा गाउँपालिका २ निवासी धनमायाँ घेर्षने, शिवसत्तासाक्षी १ का विजय पाण्डे, झापा गाउँपालिका वडा नम्बर ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल ३ का राम राम राजवंशी, झापा गाउँ पालिका २ का नाम नखुलेका एकजना, दमक ५ निवासी विन्दु सिटौला, हल्दिबारी १ निवासी चम्पामणि सत्तारु, झापा गाउँपालिका २ निवासी पहिचान नखुलेका एकजना, कमल गाउँपालिका ५ निवासी दिवस राई र झापा गाउँपालिका ४ निवासी १० वर्षीय कुल्सन खातुन छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?