डा. गोविन्द केसीको समर्थनमा सिड्नीमा प्रदर्शन, हस्ताक्षर नेपाल सरकारलाई पठाइने


नेपालको मेडिकल शिक्षामा सुधार लगायतका विभिन्न माग राखेर आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको समर्थनमा सिड्नीमा प्रदर्शन गरिएको छ । स्थानीय एशफिल्ड पार्कमा आईतबार विहान भेला भएर मौन एक घण्टा धर्ना दिँदै प्रदर्शनकारीहरुले उनको माग सरकारले पूरा गर्नुपर्नेमा दबाब दिए । अष्ट्रेलिया निवासी डा. घनश्याम चापागाईं, सुधिरा शाह र डिला खरेलको अग्रसरतामा आयोजना गरिएको मौन दबाब प्रदर्शनमा ६० जनाभन्दा बढी नेपाली सहभागी भएका थिए । उनीहरुले हस्ताक्षर संकलन गर्दै यसलाई नेपाली दूतावास मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा पठाउने भएका छन् । उक्त संकलित हस्ताक्षरसँगै नेपालको मेडिकल शिक्षालाई सबैको सहज पहुँचमा लैजाने उपायहरुको खोजी समेत सरकारले गर्नुपर्ने र डा. केसीका माग पूरा गर्नुपर्ने आफुहरुको धारणा रहेको पनि लेखिएको छ । हातमा डा. केसीको समर्थनमा प्लेकार्ड बोकेर नेपाली झण्डा सहित उपस्थित भएका उनीहरुले एक घण्टाको धर्नापछि बोल्दै कार्यक्रमका संयोजक डा. घनश्याम चापागाईंले अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सकहरु डा. केसीको साथमा भएको बताए । उनले डा. केसीका मागहरु किन जायज छन् ? यी मागहरु पूरा हुँदा कसरी नेपाली जनताका छोराछोरुी लाभान्वित हुन सक्छन् भन्ने आफ्नो धारणा राखेका थिए । यसैगरी फोटोपत्रकार सुधिरा शाहले उपस्थितहरुलाई धन्यवाद दिएकी थिइन् भने अर्का अभियानकर्ता डिला खरेलले डा. केसीले पटक पटक अनसन बस्नुपर्ने अवस्थाले नेपालको राजनीतिक क्षेत्रप्रति नै वितृष्णा ल्याएको बताए । उनले भने, “सहमति, सम्झौता गर्दै जाने र त्यसलाई फेरि पालना नगर्ने नेपाली राजनीतिक क्षेत्रको संस्कारका कारण आज डा. केसी बिरामीको उपचार गर्न छोडेर बिरामी भएको चिकित्सा क्षेत्रको उपचारमा लाग्नुपरेको छ । त्यसका लागि आफ्नो जीवन नै जोखिममा पार्नु परेको छ यो अवस्था तत्कालै अन्त्य हुनुपर्छ ।” खरेल भन्छन्, “हामीले दूतावामार्फत नेपाल सरकारलाई पठाउने दबाबपत्रमा तपाईं पनि ऐक्यबद्धता जनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?