गजल मुशायरा २०१७ को तयारी, गजल वाचन, गायनको मज्जा सिड्नीमा


औपचारिक, आसन ग्रहणको लामो श्रृंखला, भाषणको पट्यारलाग्दो क्रम होइन, गजलको परिचय, सुरुवात अनि गजलपछि गजलकै आनन्दमा यदि तपाईं डुब्न चाहनुहुन्छ भने यो वर्ष पनि गजल मुशायरा आयोजना हुने भएको छ । सिड्नीमा मोती जयन्तीको अवसरमा आगामी सेप्टेम्बर तीन तारिखका दिन गजल मुशायराको चौथो शृंखला गजल मुशायरा २०१७  हुने भएको हो । सेप्टेम्बर ३ तारिख आईतबार दिउँसो १२ बजेदेखि सिड्नीको एशफिल्डस्थित पोलिस क्लबमा हुन लागेको मुशायरामा चर्चित गजलकारहरुले आफ्नो सिर्जना प्रस्तुत गर्नेछन् । कार्यक्रम संयोजक जितेन्द्र मल्लका अनुसार यस पटक सिड्नीका गजलकारहरुसँगै ब्रिस्बेन, एडिलेड, तास्मानिया, क्यान्बेरा, अल्वेरी, मेलवर्न लगायतका शहरबाट सहभागिता निश्चित भइसकेको छ । मुशायरामा गजलकार प्रदिप चापागाईं, विष्णु तामांग, विष्णुप्रसाद अधिकारी, आशिष न्यौपाने, विनायक अधिकारी, रिमेन आलोक, केशव शर्मा, सिर्जना थापा, नैना निर्झरा, ओवेत साम्पांग गणेश गौतम, पार्वती पहाडीले आफ्ना मौलिक सिर्जना पस्कनेछन् । यसैगरी आशिष श्रेष्ठले गजल गायनको माध्यमबाट उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् भने निखिला चापागाईं र कविता आचार्यले गजलमा नृत्यको माध्यमबाट दर्शकलाई बाँध्ने प्रयास गर्नेछन् ।
मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नी साहित्य वृत्तले गजल मुशायरा आयोजना गर्दै आइरहेको छ। गजल मुशायरा गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो । यस पटकको गजल मुशायराबाट संकलित हुने रकमको केही अंशलाई नेपालमा बाढी पीडितको सहयोगमा दिने तयारी भएको छ । कार्यक्रम संयोजक जितेन्द्र मल्लले भने, “कार्यक्रममा टिकट बिक्रिबाट संकलन हुने प्रति टिकटको ५०५ रकम यस प्राकृतिक प्रकोपका पिडितहरुलाई सहयोगार्थ भरपर्दो माध्यम मार्फत प्रदान गर्ने निर्णय गरिएको छ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?