सिड्नीमा लेबर पार्टीको उच्च नेतासँग माधव नेपालको भेट, नेपालीसँग अन्तरक्रिया


एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यूसाउथवेल्सका प्रतिपक्षी नेता लुक फोलीसँग भेट गर्नुभएको छ । सिड्नीस्थित प्रतिपक्षी दलको कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धका साथै नेपालको अहिलेको राजनीतिक विकासक्रम, सहकार्य बढाउने विषयमा पनि कुराकानी भएको भेटमा सहभागी लेबर फ्रेण्डस अफ नेपालका अभियन्ता गोबा कटवलले बताए । उक्त छलफलमा नेपालमा बनेको संविधान विश्वमै समावेशिताको उत्कृष्ट उदाहरण भएको जानकारी गराउनुभएको थियो । राजनीतिक संक्रमण समाप्त हुँदैगर्दा अब विकासको चरणमा नेपाल जाने भएकोले यसमा सहकार्य गर्न अष्ट्रेलियासँग आफ्नो विशेष जोड रहेको धारणा पूर्वप्रधानमन्त्री नेपालले राख्नुभएको थियो । पूर्वप्रधानमन्त्री नेपालले मेम्बर अफ पार्लियामेन्ट जुलिया फिन र मेम्बर अफ पार्लियामेन्ट जोडी मेकेसँग पनि भेट गर्नुभएको थियो । यससँगै शुक्रबार प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा सिड्नीमा नेपाली समूदायसँगको अन्तरक्रिया पनि सम्पन्न भएको छ । अन्तरक्रियामा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, न्यूसाउथवेल्सका अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने सहित विभिन्न प्रवासी संगठनका उच्च नेतृत्व सहभागी थियो । कार्यक्रममा बोल्दै नेता नेपालले विदेशमा बस्ने नेपालीहरुलाई देख्दा आफुलाई निकै खुशी लागेपनि यस किसिमको जनशक्ति देशले गुमाउँदा आफुहरु पछि परेको भान हुने बताउनुभएको थियो । यहाँ आर्जन गरेको प्रतिष्ठा र शिपलाई नेपालको विकासमा लगाउन सके पक्कै पनि त्यसले देशको मुहार फेर्ने उहाँको भनाई थियो । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेका अनुसार नेता नेपाल आज शनिबार न्यूजिल्याण्ड पुग्नुभएको छ ।

पूर्व-प्रधानमन्त्री माधव नेपाल न्यूजिल्यान्डमा

पूर्व प्रधानमन्त्री एबम एमाले वरिष्ठ नेता माधव नेपाल न्यूजिल्यान्ड पुग्नुभएको छ । प्रबसी नेपाली मञ्च न्यूजिल्यान्डको निमन्त्रणामा जानुभएका नेपालले त्यहाँका बिभिन्न शहरहरुमा नेपाली समुदायसँग आन्तक्रिया गर्ने कार्यक्रम रहेको प्रवासी नेपाली मन्च न्यूजिल्याण्डका अध्यक्ष आत्माराम खनालले बताए ।  आज अगस्ट ५ मा अक्ल्यान्डमा नेपाली समुदायसँग आन्तर्कृया सकेर उहाँ टाउरङा जाने कार्यक्रम रहेको छ भने अगस्ट ६ मा उहाले उक्त शहरको अबलोकन भ्रमण गर्ने तथा नेपाली समुदायसँग आन्तर्कृया गर्ने कार्यक्रम रहेको छ। त्यसपछि पूर्व-प्रधानमन्त्री नेपाल क्राइष्टचर्च जानुहुनेछ । त्यहाँपनी उहाले भुकम्पपछीको पुनर्निर्माणमा अपनाइने नयाँ प्रविधिको अबलोकन गर्ने कार्यक्रम रहेको महासचिव प्रदिप रुपाखेतिले बताए । साझा नेपाली समुदायसँग आन्तर्कृयाको कार्यक्रम रहेको र अगस्ट ८ मा उहा नेपाल फर्कनुहुनेछ। पूर्व-प्रधानमन्त्री नेपाल आउने भएपछी न्यूजिल्यान्डको नेपालीहरुमा उत्साह देखिएको पनि रुपाखेतीले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?