भिक्टोरियाकी गभर्नरसँग नेपाली राजदूतको शिष्टाचार भेट, नेपालमा महिला सशक्तिकरण सुनेर गभर्नर चकित !


अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले भिक्टोरिया राज्यकी गभर्नर लिन्डा डेसूसँग सोमबार शिष्टाचार भेट गर्नुभएको छ । मेलबर्नस्थित गभर्नर हाउसमा करिब २० मिनेट दुईबीच एक्लाएक्लै कुराकानी भएको थियो । वान टु वान यो भेटमा नेपाल र अष्ट्रेलियाको सम्बन्ध, नेपालमा आगामी दिनमा हुनसक्ने उच्चस्तरीय भ्रमण, नेपालमा महिला सशक्तिकरणमा भएको विकास, भिक्टोरियामा रहेको नेपाली समूदाय र विद्यार्थीहरुको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो । उक्त भेटमा गभर्नर लिन्डा डेसुलाई नेपालको तर्फबाट राजदूत शेर्पाले उपहार प्रदान गर्नुभएको थियो । भेटमा आफुले नेपालमा पछिल्लो समयमा भएको राजनीतिक परिवर्तनको विषयमा अवगत गराएको राजदूत शेर्पाले एमएनटीभीलाई बताउनुभयो । नेपालमा महिला राष्ट्रपति, महिला सभामुख नै रहेको बेला भिक्टोरिया राज्यको उच्चस्तरीय भ्रमण टोलीको नेतृत्व गभर्नरले गरेर नेपाल जाँदा यसले थप ऊर्जा दिने आफुले बताएको र नेपाल जान गभर्नर ईच्छुक रहेको शेर्पाको भनाई छ । नेपालमा स्थानीय तहको निर्वाचनका माध्यमबाट राजनीतिमा महिला सहभागिता बढेको, राजनीतिक परिवर्तनपछि महत्वपूर्ण ओहदाको नेतृत्वमा महिलाहरु पुगेको लगायत महिला नेतृत्व विकास र राजनीतिक तहमा महिला सहभागिताको विकासक्रमबारे थाहा पाएर गभर्नर डेसु अचम्मित हुनुभएको थियो । राजदूत शेर्पाले भन्नुभयो, “नेपाल र अष्ट्रेलियाको कुटनीतिक सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउनका लागि उहाँले पहल गर्ने बताउनुभएको छ । यो असाध्यै सकारात्मक कुरा हो ।” उक्त भेटमा राजदूत शेर्पाले अष्ट्रेलियामा पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालीको संख्या उच्च रहेको भन्दै यसरी अष्ट्रलियन अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने नेपाली समूदायका लागि यहाँ मात्र नभई नेपालमै पनि अष्ट्रेलियाले सहयोग बढाउनुपर्ने धारणा आफुले राखेको राजदूत शेर्पाको भनाई छ । उक्त भेटका अवसरमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन पनि सहभागी हुनुहुन्थ्यो ।
व्यापार अभिबृद्धिबारे निर्देशक जेनीसँग छलफल
यसैबीच, राजदूत शेर्पाले सोमबार नै अष्ट्रेलियन विदेश विभाग तथा व्यापार सम्बन्धी शाखा (डीएफएटी) की निर्देशक जेनी ब्लूमफिल्डसँग छलफल गरेकी छिन् । मेलबर्नको कोलिन स्ट्रीटस्थित शाखास्थित उनकै कार्यकक्षमा राजदूत शेर्पाले भेट गरेकी हुन् । उक्त अवसरमा राजदूत शेर्पाले भिक्टोरिया राज्य सरकार र नेपालबीच सम्बन्धका आयामहरुको चर्चा गर्दै आपसी सम्बन्धलाई अझ बजबुत बनाउन र आर्थिक सहकार्यका नयाँ ढोका खोल्न नेपाल सदैव तत्पर रहेको बताउनुभएको छ । यसको जवाफमा निर्देशक जेनीले भिक्टोरियामा रहेका नेपाली मूलका व्यापारीहरुको चेम्बर बनाउन सुझाव दिएकी थिइन् । यसका लागि भिक्टोरिया सरकारले सहयोग गर्ने पनि उनको भनाई थियो । यस्तै खेलको माध्यमबाट पनि दुई देशको सम्बन्धलाई थप मजबुट बनाउन सकिने उनको धारणा थियो । नेपालसँग सहकार्य गर्न आफ्नो विभाग सदैव तत्पर रहेको भन्दै निर्देशक जेनीले सहयोगका अन्य विभिन्न क्षेत्रहरुको चर्चा गरेकी थिइन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?