पहिरो र वर्षातले भूकम्पपीडित बस्तीका वासिन्दाको दैनिकी झनै पीडादायी


दोलखाका अधिकांश भू–भागका भूकम्पपीडितको जनजीवन पहिरो र वर्षात्सँगै कष्टकर बनेको छ । हिजोआज दैनिकजसो पर्ने वर्षाले भूकम्पले चिरैचिरा बनेको भू–भागको बस्तीका वासिन्दाको दैनिकी झनै पीडादायी बनेको छ ।

दोलखाको उत्तरी दुर्गम क्षेत्र गौरीशंकर गाउँपालिका–३ मार्बु सिक्पाश्वरकी डम्बरकुमारी श्रेष्ठ अहिले वर्षाका कारण आफ्नो दैनिकी कष्टकर बनेको बताउहुनुहन्छ । उहाँ भन्नुहुन्छ, “जस्तापाताले छाएको टहरामा बस्नुपर्दा बालबच्चा बिरामी परेका छन्, रुघाखोकी, ज्वरो, झाडापखालाको समस्याले सताइरहन्छ ।’’ पानीको भल टहराभित्र पस्दा रातभरि जागै बस्नुपर्ने बाध्यताले कहिले वर्षा कम होला र केही सहजता आउला भन्ने उहाँमा आशा जाग्ने गर्दछ । वर्षसँगै आउनसक्ने पहिरोले पनि स्थानीयवासीलाई थप भयभित तुल्याएको छ । उहाँजस्तै दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङस्थित दूधपोखरी टोलका सात घरका स्थानीयवासी राताभर जागराम बस्न बाध्य भएको बताउँछन् । यहाँका ४७ वर्षीय कृष्णबहादुर बस्नेतको घर छेउमा ठूलो पहिरो छ, रातभर पानी पछर्, पानीसँगै त्यही पहिरोले सबै गाउँ नै लैजान्छ कि भन्ने पिरले आफूहरुलाई सताउने गरेको बस्नेतको भनाइ रहेको छ ।

दोलखाका कतिपय स्थानीयवासीले त वर्षात्सँगै गाउँ नै छोडेर हिँड्नु पर्ने बाध्यता रहेको बताएका छन् । भूकम्पलगत्तै भूगर्भविद्हरुले बस्ती स्थानान्तरण गर्नुपर्ने भने पनि सरकारी उदासीनताका कारण कतिपय स्थानीयवासीले पहिरोमा नै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।

सरकारले दिएको अनुदानको प्रथम किस्ताबापतको रु ५० हजार रकम स्थानीयवासीले बुझे पनि सुरक्षित र उपयुक्त स्थान नहुँदा घर पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयवासीको भनाइ छ । उपयुक्त स्थानमा जग्गा नहुँदा घर पुनःनिर्माण गर्न नसकिएको र वैकल्पिक व्यवस्था नहुँदा आफूहरुलाई स्थायी आवास निर्माणमा समस्या भएको कालिञ्चोक गाउँपालिका–५ लापिलाङका दिलबहादुर थापाको भनाइ छ ।

दिलबहादुर थापा हाल आफ्नो पुरानो गाउँ लापिलाङमा घर निर्माण गर्ने जग्गा नभएपछि बिरक्तिएर सदरमुकाम आएर बस्न बाध्य हुनुभएको छ । वर्षको रु १५ हजार तिरेर भाडाको जमिनमा आफ्ना परिवार पाल्दै आउनुभएको छ । अधिकांश समय भारतको दार्जिलिङमा भरिया जीवन बिताउने थापा अहिले दार्जिलिङको आन्दोलनका कारण नेपालमा नै बस्न थाल्नुभएको छ ।

थापाले भीमेश्वर नगरपालिका–६ का स्थानीय माधव कार्कीको जग्गा भाडामा लिएर परिवारलाई जस्ताको कटेरोले बारेर कष्टकर ढंगबाट जीवनयापन गरिरहनुभएको छ । थापा भन्नुहुन्छ, “गरिबको जिन्दगी यस्तै हो हजुर, न आफ्नो घर बनाउने घडेरी छ, न घर बनाउन पैसा नै ।”

ज्यामी काम गरेर भए पनि आफ्ना छोराछोरी राम्ररी पढाउने इच्छा छ दिलबहादुर थापाको । थापाको श्रीमती, बूढीआमा र चारजना छोराछोरी छन् । एक छोरी आफू भारतमा नै बस्दा मावलीगाउँमा पढ्न राखेको उहाँ बताउनुहुन्छ ।

भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेको भीमेश्वर नगरपालिका–९ कुतकुतेका स्थानीयवासी झनै त्रासदीमय जीवनयापन बिताइरहेका छन् । पहिरोको उच्च जोखिमकै स्थानमा स्थानीयवासी बसोबास गर्दा यहाँ चारजनाले ज्यानसमेत गुमाए । लेखबहादुर श्रेष्ठ भन्नुहुन्छ “राज्यले हाम्रो जोखिम बस्ती सारिदेओस् भन्ने अपेक्षा छ, तर हाम्रो कुरा कसैले सुनेन ।

श्रेष्ठका अनुसार नगरपालिका बन्नुभन्दा पहिले यो ३ नं वडा पूरै पहिरोको उच्च जोखिममा रहेको भनेर भूगर्भविद्ले भनेका थिए, अहिले पूरै भासिएर बस्नै नहुने भएको छ, तर जाने ठाउँ छैन । भूकम्पका कारण दोलखाका करिब १५० टोल पहिराको उच्च जोखिममा रहे पनि सरकारी उदासीनता र स्थानीय निकायको चासो नभएपछि सरकारले दिएको अनुदानको रु ५० हजार रकमले स्थानीयवासीले जोखिम मोलेरै बस्ती बसालिरहेका छन् ।

अबिरल वर्षाका कारण हाल दोलखाका अधिकांश भू–भागमा कच्ची सडकमा चल्ने सवारीसाधनसमेत चलेका छैनन् । धेरैजसो स्थानमा यातायातका साधन अवरुद्ध छन् । कतिपय स्थानमा विद्यालय टाढा हुँदा मौसम नसुध्रिएसम्म बालबालिका विद्यालय जान बञ्चित छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?