राजदूतलाई भिक्टोरियामा स्वागत सम्मान, अष्ट्रेलियाको नेपाली शीप नेपाल लैजान पहल गर्ने


अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियामा नेपालीहरुले आर्जन गरेको शीपलाई नेपालमा लैजान र नेपालको विकासमा लगाउन आफू क्रियाशील हुने प्रतिबद्धता जनाउनुभएको छ । नेपालीहरुको बसोबासका हिसाबले अष्ट्रेलियाको दोश्रो ठूलो शहर मेलबर्नमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयको आयोजनामा राजदूत शेर्पाको सम्मान र स्वागतमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । स्थानीय अष्ट्रेलियन सरकारी अधिकारीहरु, राजनीतिक नेताहरु र कुटनीतिक अधिकारीहरुको उपस्थितिकाबीच करिब २ सय भन्दा बढी भिक्टोरियास्थित नेपाली समूदायका अगुवाहरु सम्मिलित कार्यक्रममा बोल्दै राजदूत शेर्पाले यहाँ विद्यार्थीका रुपमा आएका नेपालीहरु शेष घले बनेर निस्किएको भन्दै खुशी व्यक्त गर्नुभयो । विद्यार्थीहरुले यहाँ आर्जन गरेको प्रतिष्ठाका कारण आफु गौरवान्वित भएको भन्दै विद्यार्थीहरुको निम्ति केही गर्ने आफ्नो सोच रहेको राजदूत शेर्पाले बताउनुभयो । राजदूत शेर्पाको भनाई थियो, “गर्व गरेर मात्र भएन ।” नेपाली दूतावासले विद्यार्थीका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता राजदूत शेर्पाले जनाउनुभयो – “यो विदेशी भूमिमा हाम्रा नागरिकहरुलाई चाहिने सबै प्रकारको सहयोग र सुरक्षाको प्रत्याभूति गर्न दूतावास तयार छ ।”
प्रवासी नेपालीहरुको नेपालप्रतिको राष्ट्रियता भावलाई सम्मान गर्छु भन्दै राजदूत शेर्पाले यहाँको सरकारसँग सहकार्यका सकारात्मक प्रयत्नहरु अगाडि बढेको जानकारी पनि दिनुभयो । नेपाल निर्माणको अबको अभियानमा यहाँ शीप हासिल गरेका नेपालीहरुको अझ बढी आवश्यकता भएको भन्दै राजदूत शेर्पाले यहाँ रहनुभएका विशेषज्ञ, ईन्जिनियर, डक्टर, वैज्ञानिकहरुको शीप नेपालसम्म जोड्ने बताउनुभयो । यसका लागि अष्ट्रेलियामा रही विभिन्न क्षेत्रमा काम गरिरहेका विशेषज्ञहरुको तथ्यांक संकलनलाई प्राथमिकता दिइने उहाँको भनाई थियो । “ईकोनोमिक डिप्लोम्यासी, स्पोर्टस डिप्लोमेसी”लाई आफुले प्राथमिकता दिँदै नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई अघि बढाउने योजनाको पनि राजदूत शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुनुभएका मेम्बर अफ पार्लियामेन्ट पिटर खलिलले राजदूत शेर्पाको नेतृत्व क्षमताबाट आफु धेरै आशावादी भएको भन्दै संसदीय समिति नै बनाएर नेपाल र अष्ट्रेलियाबीच सम्बन्धलाई, सहयोगलाई अगाडि बढाउने दिशामा आफ्नो प्रयत्न रहने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै भिक्टारियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले राजदूत शेर्पाको नेतृत्वमा नेपाल र अष्ट्रेलियाको सम्बन्ध नयाँ उचाईमा जाने विश्वास आफुले लिएको धारणा राख्नुभयो । योञ्जनले भिक्टोरियाको नेपाली समूदायले जुन एकता, सहकार्य प्रदर्शन गरेको छ त्यसलाई निरन्तरता दिनुपर्ने भन्दै एकलाई पर्दा अर्कोले सहयोग गर्ने नेपालीहरुको संस्कारलाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले गैरआवासीय नेपाली संघ अष्ट्रेलिया आगामी दिनमा दूतावाससँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेलले बहुसांस्कृतिक शहर मेलबर्नमा राजदूतलाई स्वागत गर्दै नेपाली समूदाय दूतावाससँग सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई देशको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा कलाकारहरुले नेपाली गीतमा नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा राजदूत शेर्पाको अहिलेसम्मको राजनीतिक यात्रा र नेपाली महिलाको उत्थानमा योगदानका विषयमा तयार पारिएको वृत्तचित्र पनि देखाइएको थियो । कार्यक्रममा सहभागी हुन वेष्टर्न अष्ट्रेलियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत फ्रेड ब्राउन पनि आउनुभएको थियो भने भिक्टोरियामा रहेका विभिन्न संघ संस्थाका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रमस्थल थनबरी थियटरमा चित्रकार ग्यालरीले नेपाली मौलिक कलाको प्रदर्शनी समेत गरेको थियो । उक्त अवसरमा सहभागी कलाकारहरुलाई प्रशंसापत्र र प्रमाणपत्र प्रदान गरिएको थियो भने महावाणिज्यदूतको कार्यालयमा कार्यरत कम्युनिकेशन अफिसर निरु त्रिपाठीलाई अहिलेसम्मको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । All photos by : Arun Chitrakar

you can watch full speech of Her Excellency Sherpa here :

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?