सिड्नीमा आगामी शुक्रबार पूर्वप्रधानमन्त्री माधव नेपालसँग अन्तरक्रिया आयोजना हुँदै


पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सिड्नीमा अन्तरक्रिया आयोजना हुने भएको छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेका अनुसार अगष्ट ४ तारिखका दिन सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा अन्तरक्रिया आयोजना हुन लागेको हो । अपरान्ह ४ बजेदेखि हुने कार्यक्रममा सहभागी हुन पाण्डेले सिड्नीवासीलाई आग्रह गरेका छन् । कुनै तोकिएको विषयमा केन्द्रित रहेर अन्तरक्रिया हुन लागेको हो भन्ने एमएनटीभीको प्रश्नमा पाण्डेले भने, “खासमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सिड्नी हुँदै अन्य देशमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो । यो समयलाई प्रवासमा बस्ने नेपालीहरुको जिज्ञासालाई पूर्वप्रधानमन्त्री समेत भइसक्नुभएका एक जिम्मेवार नेतासमक्ष राखौं भनेर हामीले आग्रह गरेका हौं । उहाँले आग्रह स्वीकार गरिदिनुभयो र प्रवासी नेपाली मञ्चले कार्यक्रम राखेको हो ।” सिड्नीवासीहरुले पूर्वप्रधानमन्त्री नेपालसँग अहिलेको राजनीतिक विकासक्रम, निर्वाचन र देशको विकासमा प्रवासीहरुको योगदानका विषयमा अन्तरक्रिया गर्ने बताएका छन् । यसैबीच, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सिड्नीपछि तीन दिनका लागि न्इूजिल्याण्ड जानुहुने भएको छ । सिड्नीमा शुक्रबारको अन्तरक्रिया सकाएर उहाँ ५ अगष्टमा अकल्याण्ड पुग्ने र त्यहाँ अन्तरक्रिया गर्ने बताइएको छ । यसपछि ५ र ६ अगष्टमा स्थानीय टौरंगामा रहने र ७ तारिख क्राईष्टचर्चमा पुगी त्यहाँका नेपालीसँग अन्तरक्रिया गर्ने योजना छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?