उपप्रधानमन्त्री एवं शिक्षामन्त्रीसँग मेलबर्नमा अन्तरक्रिया, प्रविधिक शिक्षा नेपालको आवश्यकता


अष्ट्रेलियाको साताव्यापी भ्रमणमा रहेको उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसहितको टोलीसँग भिक्टोरियाका नेपालीहरुले अन्तरक्रिया गरेका छन् । मेलबर्नस्थित महावाणिज्यदूतको कार्यालमया आयोजना गरिएको अन्तरक्रियामा मंगलबार अष्ट्रेलियाको प्राविधिक शिक्षाको विषयमा बुझ्न आएको उच्चस्तरीय टोलीले नेपालमा प्रविधिक शिक्षाको आवश्यकता अझ बढी रहेको निष्कर्श प्रस्तुत गर्यो । टोलीसँग उपस्थित नेपाली समूदायका अगुवाहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । नेपालमा भएको राजनीतिक परिवर्तको सन्दर्भ प्रस्तुत गर्दै अदक्ष जनशक्ति देश बाहिर जाँदा दुईतर्फी घाटा भएको पनि उहाँले बताउनुभयो । विकसित देशहरुमा उच्च शिक्षाका लागि जाने नेपालीहरुले नेपालमा केही लगानी गर्नुपर्ने आवश्यकतामा उहाँको जोड थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष टोनु घोतानेले उपप्रधानमन्त्री एवं शिक्षामन्त्रीका साथै शिक्षा सचिवसँगको आफ्नो अन्तरक्रिया अत्यन्तै फलदायी भएको भन्दै केही समयमै अष्ट्रेलियामा रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुको लागि पाठ्यपुस्तक विकास गरी त्यसलाई विश्वस्तरमै रहेका नेपाली भाषा बोल्ने बालबालिकाहरुको शिक्षाका निम्ति पठाउने योजनाका विषयमा समझदारी गरी अघि बढ्ने तयारी भइरहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षाका लागि अष्ट्रेलियामा जुन किसिमको आकर्षण छ नेपालमा अझ बढी त्यसको आवश्यकता भएको भन्दै भ्रमण सफलताको कामना गर्नुभएको थियो । उक्त अवसरमा विमर्श साप्ताहिकका प्रकाशक राजेन्द्र उपाचरक, जनसम्पर्क समिति अष्ट्रेलिया मेबलर्नका सभापति सुरेश पोखरेलले भ्रमण फलदायी बनोस् र नेपालले केही परिवर्तनको अनुभूति गर्न पाओस् भन्ने कामना गरेका थिए । कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले उपस्थित सबै अतिथिलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो । महावाणिज्यदुत योञ्जनलाई जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका अध्यक्ष सुरेश पोखरेल, एनआरएन अष्ट्रेलियाका निर्वाचित अध्यक्ष टोनु घोताने, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष तारा गैरे, जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डव कार्की, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेल लगायतले साथ दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा उपस्थित गैरआवासीय नेपालीहरुले नेपालको शिक्षाको सम्बन्धमा चासो व्यक्त गर्दै विभिन्न सुझाव दिएका थिए । महावाणिज्यदूत योञ्जनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमकोसुरुवातमा मेलबर्नमा रहेको रोयल गुर्खाज ईन्ष्टिच्युट अफ टेक्नोलोजीकी प्राविधिक शिक्षा विभागकी डेनिस हन्टले स्वागत गर्नुभएको थियो ।
उक्त अवसरमा उठेका विभिन्न जिज्ञासाको उत्तर दिँदै राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशीले नेपालमा थ्यौरी एजुकेशन धेरै कम भइसकेको बताउनुभयो । उहाँले नेपालमा केही भइरहेको छैन भन्ने कुरा सत्य नभएको भन्दै अहिले तीन वर्षीय योजना लागू गरेर काम भइरहेको बताउनुभयो । त्रिवर्षीय योजना २०१६ मा सुरु भएको र यसमा प्राविधिक शिक्षालाई विस्तार गर्ने योजनाहरु समेत रहेको उहाँको धारणा थियो । उहाँको भनाई थियो, रोजगारीको लागि शिक्षा र उद्यमशिलताको लागि शिक्षा भन्ने नाराको साथ चलिरहेको छ । अष्ट्रेलियाको फ्याकल्टी, एक्सचेन्ज, एक्सपीरियन्स एक्सचेन्ज कसरी गर्ने भनेर हामी आएको हो । कार्यक्रममा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले झोलामा सर्टिफिकेट तर शिप नभएर बेरोजगार भयौं त्यसैले विदेशमा छौं भन्ने भनाई रहेपनि परिस्थितिले नेपालभित्र मात्र होइन विश्वभर नै प्रतिस्पर्धामा जानुपर्ने अवस्था रहेको बताउँदै यसैका लागि प्राविधिक शिक्षा आवश्यक पर्ने बताउनुभएको थियो । उहाँले यस भ्रमणबाट प्राप्त भएका उपलब्धीहरुलाई नेपाल फर्किएपछि सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीभईभीटीका सदस्यसचिव पुष्परमण वाग्ले, शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्याल, अर्थमन्त्रालयका सहसचिव निर्मलहरि अधिकारी, सिटईभीटीका निर्देशक रमेशकुमार बखती, सीप विकास परियोजनाका निर्देशक भुवनेश्वर ढुंगाना, शिक्षा मन्त्रालयका उपसचिव मुकुन्दमणि खनाल र सीप विकास परियोजनाका उपनिर्देशक उमेशकुमार मिश्र सहभागी हुनुहुन्छ । टोली बुधबार सिड्नीमा पुगेको छ भने बिहीबार त्यहााको प्राविधिक शिक्षालयहरुमा अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठलाई एनआरएन अष्ट्रेलियाको ब्रिसबेनमा हुन लागेको सातौं अधिवेशनमा सहभागी गराउने प्रयास भइरहेको छ अधिवेशनमा अतिथिको रुपमा महावीर पुन सहभागी हुँदैछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?