राजपा निर्वाचनमा सहभागी हुन तयार, राजपालाई दलको मान्यता प्रदान


निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका छवटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो । आयुक्त नरेन्द्र दाहालले छवटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई दलको मान्यता प्रदान गरेको जानकारी दिनुभयो । उहाँले राजपालाई निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय भएको छैन भन्नुभयो । यसैगरी, आयोगको बैठकले पाँचवटा राजनीतिक दललाई दर्ता गरेको छ । पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले औपचारिक रुपमा दलको मान्यता पाएको छ । यस्तै, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद्, दलित–मुस्लिम जनशक्ति पार्टी र नेपाली काँग्रेस ९बिपी० लाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
राजपा, पर्साले आज पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले तराईमा स्वास्थ्य र शिक्षामा सरकारले लगानी कम गरेका कारण मधेसी पछि पर्दै गएको आरोप लगाउनुभयो । उहाँले शक्तिका रुपमा रहेको स्वास्थ्य र शिक्षामा जनसंख्याका आधारमा सरकारले लगानी नगरेका कारण मधेसी पछि पर्दै गएको दाबी गर्नुभयो । राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रवक्ता एवम् प्रभावशाली नेता विमल श्रीवास्तव, नेजामुदिन समानी, शशिकपुर मियाँलगायतले यथास्थितिमा स्थानीय तह निर्वाचनमा सहभागी नहुने प्रस्ट पार्नुभएको थियो ।
विभिन्न पार्टी परित्याग गरी राजपा नेपालमा प्रवेश गरेकाहरुलाई संयोजक ठाकुरले फूलमाला र टीका लगाई स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?