सुरु भयो अष्ट्रेलियामा एनआरएनको निर्वाचन, आजै मतपरिणाम आउने


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी 2 वर्षीय कार्यकालका लागि आज निर्वाचन भइरहेको छ । विहानदेखि सुरु भएको निर्वाचन साँझसम्म चल्नेछ । अष्ट्रेलियाका ६ राज्य र दुई टेरेटोरीमा निर्वाचनको कार्यक्रम जारी छ । ईलेक्ट्रोनिक भोटका माध्यमबाट तोकिएको मतदानस्थलमा पुगेर आफ्नो उम्मेद्वारलाई मत दिनेव्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रमुख डा। कृष्ण हमालले जानकारी दिए । उनले सहज रुपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भन्ने उद्देश्य  राखिएको पनि जनाए । अष्ट्रेलियामा गैरआवासीय नेपाली संघको यस पटक ८ हजार २ सय ४० मतदाता रहेका छन् । करिब ७० प्रतिशत मतदान हुने अपेक्षा छ । सबैभन्दा धेरै मतदाता न्यूसाउथवेल्समा रहेका छन् भने यसपछि ब्रिसबेन र मेलबर्न सदस्यता संख्याका आधारमा अगाडि छन् । अष्ट्रेलियाको विभिन्न राज्यमा फरक फरक समय भएका कारण बेलुका ८ बजेसम्ममा सबै ठाउँमा मतदान सम्पन्न हुने र करिब १० बजेपछि मतपरिणाम सार्वजनिक गर्न सकिने अपेक्षा आयोगको छ । चुनावी मैदानमा साझा एनआरएनको नारा दिँदै टोनु घोतानेसहितको समूह छ भने अर्कोतर्फ समावेशी एनआरएनको नाराका साथ स्वतन्त्रप्रताप शाह नेतृत्वको समूह चुनावी प्रतिस्पर्धामा छ । यीबाहेक पनि अभिमानसिंह बस्नेत र डा. महेश भण्डारी पनि नेतृत्वको दावी गर्दै चुनावमा होमिएका छन् । बस्नेत र भण्डारी एनआरएनमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने एजेन्डालाई स्थापित गर्न आफुहरुको उम्मेद्वारी रहेको बताइरहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?