जिते नेतृत्व गर्ने, नभए सघाउने एनआरएन अष्ट्रेलियाको अध्यक्षका चारै प्रत्यासीको प्रतिबद्धता


एनआरएन अष्ट्रेलियाको आगामी जुलाई ८ तारिखमा हुन लागेको निर्वाचनको सन्दर्भमा एमएनटीभीले आयोजना गरेको प्रेसिडेन्सीयल डिबेटमा सहभागी भएका अध्यक्ष पदका उम्मेद्वारहरुले सहयोग र सहकार्यको नयाँ संस्कृतिको विकास गर्ने बताएका छन् । ईमेल, फेसबुकका साथै प्रत्यक्ष उपस्थित भएर समेत सोधिएका प्रश्नहरुको उत्तर दिने क्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । सामाजिक संस्थामा जीत हार भन्ने हुँदैन । को अघि भयो, को पछि भयो भन्ने मात्र हो । त्यसैले जीते नेतृत्व गर्नेछौं । दोश्रो, तेश्रो या चौथो भएको अवस्थामा आफुले पहिलो हुनेलाई सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाएका हुन् । सोमबार साँझ सिड्नीको रकडेलस्थित ईन्द्रेणी फंक्सन सेन्टरमा आयोजना गरिएको डिबेटमा सहभागी हुन अध्यक्षका प्रत्यासीहरु टोनु घोताने, स्वतन्त्रप्रताप शाह, अभिमान बस्नेत र डा. महेश भण्डारी सिड्नी आएका थिए । कार्यक्रम सकिएपछि उम्मेद्वारहरुबीचको आपसी मेलमिलाप हेर्न लायक नै थियो । एजेन्डाहरु आफ्नै ठाउँमा छन् । प्रतिस्पर्धा पनि होला । तर, सामाजिक काम गर्दा जीत हारको अनुभूति गर्नु हुँदैन भन्ने महसूस सबैले गरेको देखियो । कार्यक्रममा सहभागी भएका पत्रकार मनऋषि धितालले बताए । यस बहस कार्यक्रममा धितालसहित ऋषि आचार्य र डा. भरत पौडेलले उम्मेद्वारको प्रस्तुतिका आधारमा उनीहरुको मूल्यांकन गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिनका लागि आएका वर्तमान अध्यक्ष सुरेन्द्र सिग्देललाई पछिल्लो समयमा उम्मेद्वारी फिर्ता लिने समय सकिँदा पनि मेलमिलापका नाममा मतदानसूचिबाट उम्मेद्वारहरुको नाम हटाउने काम भएको भन्दै प्रश्न गरेका थिए । यसको जवाफमा अध्यक्ष सिग्देलले आफु जहिल्यै पनि सहकार्य र मेलमिलापको पक्षमा भएको भन्दै यदि कसैले उम्मेद्वारी फिर्ता लिन्छ भने उसको नाम मतदान पत्रबाट हटाउन आफुहरुले निर्वाचन आयोगलाई सिफारिश गर्ने पनि बताएका थिए । सिफारिश गर्न सकिन्छ । तर, निर्वाचन आयोग यस विषयमा निर्णय गर्न भने स्वतन्त्र छ । सिग्देलको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?