एनआरएन निर्वाचनः राजन सिटौला र सन्तोष दाहालको उम्मेद्वारी फिर्ता, अन्तिम नामावली आज


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनको कार्यतालिका अनुसार उम्मेद्वारी फिर्ता लिने समयसीमाभित्र दुई उम्मेद्वारले आफ्नो नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिनेमा महासचिव पदका उम्मेद्वार राजन सिटौला र आईसीसी सदस्य सन्तोष दाहाल छन् । दुवै न्यूसाउथवेल्स राज्यको प्रतिनिधित्व गर्छन् । बिहीबार मध्यराति १२ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समयसीमा रहेकोमा यी दुई उम्मेद्वारले निर्वाचनमा नजाने निर्णय गरेका हुन् । यसअघि अध्यक्ष, महासचिव, सचिव पदमा सहमतिको प्रयास जारी रहेपनि कुनै निर्णय भने हुन सकेन । यससँगै अध्यक्ष पदमा चार जना उम्मेद्वार कायम भएका छन् जसमा अभिमान सिंह बस्नेत, डा. महेश भण्डारी, स्वतन्त्रप्रताप शाह र टोनु घोताने छन् । यसैगरी महासचिव पदमा अब तीन जना उम्मेद्वार बाँकी छन्, जसमा डा. ज्ञानेन्द्र रेग्मी, नारायण कोइराला र राजु मानन्धरबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै सचिव पदमा उम्मेद्वारी दिएका तीनैजना विकास केसी, देवबहादुर गुरुंग र डिला खरेल कायम छन् । सन्तोष दाहालले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अब ६ सदस्यीय आईसीसी सदस्य पदका लागि १० जना उम्मेद्वार मैदानमा देखिएका छन् । जसमा दिपककुमार भट्टराई, गोकुलप्रसाद घिमिरे, जानकी पौडेल, केदार रिजाल, मधु पन्थी, निरञ्जन प्रसाई, राजकुमार अधिकारी, राजकुमार थपलिया, रमेशप्रसाद पौडेल र उषाकिरण बारिया छन् । बाँकी रहेका उम्मेद्वारहरुको अन्तिम नामावली आज मध्यरातिसम्म प्रकाशित गर्ने निर्वाचन आयोगको तयारी छ । निर्वाचन कार्यतालिका अनुसार अब अन्तिम नामावली प्रकाशित गरेपछि शनिबार समूदायका सदस्यहरुसँग निर्वाचनका विषयमा छलफल हुनेछ भने यसपछि जुलाई ८ तारिखमा अष्ट्रेलियाभर मतदान कार्यक्रम गरिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?