आठ सय २० नेपाली गैरकानूनी रुपमा अष्ट्रेलियामा रहेको तथ्यांक सार्वजनिक, अधिकांश विद्यार्थी


नेपालीहरुको लागि आकर्षक गन्तव्य बनेको अष्ट्रेलियामा ८ सय २० जना नेपाली भिसा सकिएपछि पनि अवैध रुपमा बसोबास गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । यहाँको अध्यागमन विभागले हालै सार्वजनिक गरेको तथ्यांकमा ६४ हजार व्यक्तिहरु यसरी अवैध रुपमा बसेको खुलेको थियो । यही प्रसंगमा अंग्रेजी न्यूज पोर्टल  southasia.com.au ले विभागका प्रवक्तालाई सोधेको प्रश्नको उत्तर दिँदै उनले यस्तो जानकारी गराएका हुन् । प्रवक्ताका अनुसार भिसा लिएर अष्ट्रेलिया आएका तर भिसा सकिएपछि नवीकरण नगरी बसिरहेका ८ सय २० नेपालीमध्ये अधिकांश विद्यार्थी भिसामा आएका हुन् । विभागका प्रवक्ताले भनेका छन्, “नेपाली सामूदायिक संघसंस्थाहरुले यसरी गैरकानूनी रुपमा बसोबास गर्दा आइपर्ने समस्याहरुको बारेमा अवगत गराउन सक्दछन् ।” भिसाविना नै अष्ट्रेलियामा बसोबास गर्नेमध्ये मलेशियनहरु सबैभन्दा बढी रहेका छन् । नेपालीमात्र होइन अमेरिका, बेलायत, चीन लगायतका देशका नागरिक पनि अवैध रुपमा बसोबास गरिरहेको तथ्यांकमा छ । बेलाबेलामा गैरकानूनी रुपमा बसोबास गरिरहेका व्यक्तिहरुलाई यहाँको सरकारी निकाय र प्रहरीले पक्राउ गरेर उनीहरुकै देश फिर्ता पठाउने गरेको छ । जून ३० तारिखसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी विद्यार्थी भिसामा आएकाहरु यसरी गैरकानूनी रुपमा अष्ट्रेलियाका विभिन्न शहरमा बसिरहेको जानकारी विभागलाई भएपनि उनीहरुको छुट्टा छुट्टै भिसा वर्गीकरण भने उपलब्ध गराइएको छैन । यसरी गैरकानूनी रुपमा बसोबास गर्दा आइपर्ने परिस्थितिको बारेमा तपाईंले यो लिंकमा गएर हेर्न सक्नुहुनेछ ।

http://www.border.gov.au/Trav/Visa/visa-about-to-expire-or-expired/status-resolution-service

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?