एनआरएन अष्ट्रेलियाको अध्यक्ष बन्न चार जनाको उम्मेद्वारी, बस्नेत, घोताने, शाह र भण्डारी मैदानमा


एनआरएन अष्ट्रेलियाको आगामी जुलाई ८ तारिखमा हुन लागेको निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आउन करिब दुई साता बाँकी हुँदा उम्मेद्वारहरु आफ्नो मतदाताकोमा पुगिरहेका छन् । मतदाताहरुलाई आफूले गर्ने काम, योजना र कार्यशैलीको जानकारी दिने क्रम चुनावको मौन अवधिअघिसम्म पनि चलिरहने देखिन्छ । यस पटक उम्मेद्वारी दिएपछि त्यसलाई फिर्ता लिने समय लामो रहेका कारण धेरैखाले समिकरणबारे चर्चा चलिरहेको छ । जुन २९ तारिखसम्मको समयमा उम्मेद्वारी फिर्ता लिन सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । एनआरएन अष्ट्रेलियाको अध्यक्षको पदका लागि वर्तमान महासचिव टोनु घोताने, एनआरएन अष्ट्रेलियाका पूर्वउपअध्यक्ष स्वतन्त्रप्रताप शाह, वर्तमान उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक अभिमानसिंह बस्नेत र डा. महेश भण्डारी मैदानमा छन् । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष पदका प्रत्यासी बस्नेतले विभिन्न राज्यमा रहेका नेपाली समूदायसम्म पुगेर आफ्नो कुरा राखिरहेको बताए । यसैगरी अर्का उम्मेद्वार स्वतन्त्रप्रताप शाह पनि एडिलेड, सिड्नीसहित पर्थ, डार्विन, मेलबर्नमा पुगेर मतदातालाई आफ्ना एजेन्डाबारे जानकारी गराइरहेका छन् । सिड्नीमा भेटिएका उनले भने, म कुरा होइन काम गर्न चाहन्छु । एनआरएन अष्ट्रेलियालाई अझ राम्रो बनाउन चाहन्छु । अध्यक्षकै प्रत्यासी टोनु घोताने मेलबर्नमा रहेका विभिन्न समूहसँग छलफलमा व्यस्त छन् भने उनले एडिलेड, सिड्नी, ब्रिसबेन लगायत ठाउँमा आफ्नो चुनावी दौडाहा चलाइरहेका छन् । यसपछि बाँकी रहेका अन्य राज्यमा समेत जाने योजना बनाएको उनले बताए । मुख्यतः मतदाताहरुको तर्फबाट सुझाव लिने र आफ्ना एजेन्डा बताउने काममा व्यस्त बनेको उनको भनाई छ । अर्का उम्मेद्वार डा. महेश भण्डारीले आफ्ना एजेन्डा सार्वजनिक गर्दै एनआरएनलाई राजनीतिमुक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनी भन्छन्, भण्डारी ईन पोलिटिक्स आउट । निर्वाचन आयोगले सबै उम्मेद्वारको नामावली सार्वजनिक गरिसकेपछि अब कस्तो गठबन्धन निर्माण हुन्छ र चुनावमा सहभागिता बढाउने उपायहरुका विषयमा पनि छलफल जारी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?