अष्ट्रेलियामा ६४ हजार गैरकानूनी आप्रवासी, सबैभन्दा बढी मलेशियन


विभिन्न सिलसिलामा अष्ट्रलियाको भ्रमण गर्ने र आफ्नो भिसाको अवधि सकिएपछि पनि यहीँ गैरकानूनी रुपमा बसोबास गर्नेहरुको संख्या ६४ हजार रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यसरी गैरकानूनी रुपमा बस्नेमध्ये सबैभन्दा बढी मलेसियाका नागरिक भएको देखिएको छ । उनीहरुको संख्या ९ हजार ४ सय ४० रहेको तथ्यांकले देखाएको हो । यसैगरी उनीहरुलाई पछ्याउँदै चिनियाँ नागरिकहरु पनि गैरकानूनी रुपमा अष्ट्रेलियामा बसोबास गर्ने क्रममा अघि नै देखिएका छन् । ६ हजार ५ सय चिनियाँ राष्ट्रियताका व्यक्तिहरु गैरकानूनी रुपमा बसोबास गरिरहेको पाइएको छ । यसपछि बेलायत र अमेरिकाका नागरिक उच्चदरमा गैरकानूनी रुपमा अष्ट्रेलियामा बसोबास गर्नेमध्ये पर्दछन् । यस सूचिमा ईन्डोनेसिया, भारत, दक्षिण कोरिया, फिलिपिन्स, भियतनाम तथा थाईल्याण्डबाट आएका व्यक्तिहरु पनि समावेशन छन् । यी देशका २२ सयदेखि २८ सयसम्म नागरिकहरु यहाँ गैरकानूनी रुपमा बसोबास गरेको देखिएको छ । यस्तै जर्मन, फ्रान्स, जापान र फिजीका नागरिक पनि यो सूचिमा छन् । यसरी गैरकानूनी रुपमा बसोबास गर्नेमध्ये एक तिहाई मानिसहरु काम गरिरहेको अनुमान छ । गएको पाँचवर्षको तथ्यांकमा यस पटक ६ प्रतिशतले बृद्धि भई ६४ हजार गैरकानूनी आप्रवासी बसिरहेको तथ्यांक आएको हो । यसरी गैरकानूनी रुपमा बसोबास गर्नेमध्ये ७० प्रतिशतभन्दा बढी भिजिट भिसामा आएकाहरु रहेको र १५ प्रतिशत स्टुडेन्ट भिसामा आएर गैरकानूनी भएकाहरु छन् । सीमा सुरक्षा तथा अध्यागमन मन्त्री पिटर डट्टनका प्रवक्ताका अनुसार ६५ लाख मानिसहरु हरेक वर्ष अष्ट्रेलिया आउने गर्दछन् । यीमध्ये गैरकानूनी रुपमा बस्दै आएकाको संख्या एक प्रतिशतभन्दा कम नै हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?