चुनाव सार्नु अनुपयुक्त भएको रामचन्द्र पौडेलको तर्क, राजपासँग सहमतिमै निर्वाचन सारिएको महेन्द्र यादवको तर्क 


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नु अनुपयुक्त भएको बताउनुभएको छ । नेता पौडेल तनहुँको क्षेत्र नं २ द्वारा दमौलीमा आयोजित निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । सरकारले प्रदेश नं २ को निर्वाचन असोज २ गते सार्न गरेको निर्णयप्रति इङ्गित गर्दै नेता पौडेलले भन्नुभयो – “राजपाले धोका दिएको भए यसबारेमा समीक्षा हुनुपथ्र्यो ।” तराईका जनतालाई स्थानीय तहको निर्वाचनका बारेमा बुझाउन जरुरी भएको बताउँदै नेता पौडेलले भन्नुभयो – “त्यस क्षेत्रका नेताहरुले स्थानीय तहको निर्वाचनबाट हुने फाइदाका बारेमा राम्रोसँग बुझाउन आवश्यक छ ।” पहिलो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले गुरुयोजना बनाई काम गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
नेता पौडेलले भन्नुभयो – “पहिलो चरणको निर्वाचनमा काँग्रेस दोस्रो स्थानमा रहन पुगेकाले अब हुने दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्छ । यसका लागि तल्लो तहबाटै काँग्रेसलाई दबाब दिनुपर्छ, जय जयकार गरेर मात्रै हुँदैन ।”
राजपासँग सहमतिमै निर्वाचन सारिएको महेन्द्र यादवको तकृ
नेपाली काँग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमै प्रदेश नं २ को निर्वाचनको मिति तोकिएको जानकारी दिनुभएको छ । उहाँले आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुरसँगको सहमति गरेपछि सो निर्वाचन सारिएको बताउनुभयो । राजपासँग पूर्ण सहमति गरेर नै सरकारले तेस्रो चरणको निर्वाचनको मिति सार्वजनिक गरेको बताउँदै उहाँले भन्नुभयो, “अब मधेसी जनता कुनै पनि हालतमा निर्वाचनमा जान्छन्, मोर्चाका जायज मागलाई सम्बोधन गरेर सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ, यसमा मोर्चाले लचकता देखाउनुपर्छ ।” राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसी तथा आदिवासी जनताले अधिकार प्राप्तिका लागि जीवन उत्सर्ग गरेकाले मधेस र थरुहटलाई टुक्राटुक्रा पारेर गरिने चुनावले कसैको हित नगर्ने विचार व्यक्त गर्नुभयो । मधेसी तथा जनजातिले उठाएका माग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेसदेखि थरुहटसम्म एकैपटक निर्वाचन हुनुपर्ने आफूहरुको प्रमुख माग रहेको स्पष्ट पार्दै उहाँले बल प्रयोग गरेर निर्वाचन गराइए मुलुक सफल हुन नसक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?