वैदेशिक रोजगार समस्या समाधान गर्न कार्यदल बनाएकोमा परराष्ट्रमन्त्रीलाई व्यवसायीको धन्यवाद


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधिमण्डलले आज भेटी वैदेशिक रोजगार समस्या समाधान कार्यदलको सदस्यमा सङ्घको पनि प्रतिनिधि सहभागी गराइनुपर्ने माग गरेको छ । उपप्रधानमन्त्री महराले बुधबार कार्यभार सम्हालेलगत्तै पहिलो निर्णयका रुपमा वैदेशिक रोजगार समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको थियो । कार्यदल गठन गर्ने निर्णयका लागि धन्यवाद दिँदै त्यसको सदस्यमा सङ्घका अध्यक्षलाई सहभागी गराउन आफूहरुले परराष्ट्रमन्त्रीलाई आग्रह गरेको र त्यसमा उहाँले सकारात्मक प्रतिक्रिया दिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो ।भेटमा सङ्घको प्रतिनिधिमण्डलले कतारमा रहेका नेपाली श्रमिकको विषयमा परराष्ट्रमन्त्री महराको ध्यानाकर्षण गराएको थियो । कतारमाथि खाडीका चार राष्ट्रले गरेको नाकाबन्दीपछि नेपालीमाथि परेको असरबारे मन्त्रालयले सो देशमा रहेको नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहेर बुझिरहेको महराले जवाफ दिनुभएको थियो । त्यहाँ रहेका नेपालीलाई कुनै ठूलो समस्या नरहेको परराष्ट्रमन्त्रीले जानकारी दिनुभएको महासचिव गुरुङले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?