सिड्नीमा पनि नेपाल पर्यटन प्रबद्र्धन कार्यक्रम, सांसद लिन्डा बर्नी नेपाल जान ईच्छुक


अष्ट्रेलियास्थित नेपाली दूतावास क्यानबेरा र नेपाली महावाणिज्यदूतको कार्यालय न्यूसाउथवेल्सका संयुक्त आयोजनामा सिड्नीमा पर्यटन प्रबद्र्धन कार्यक्रम आयोजना गरिएको छ । स्थानीय मोर पार्कको गल्फ क्लबमा भएको उक्त कार्यक्रममा अष्ट्रेलियाको फेडरल सांसद लिन्डा बर्नी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । बौद्ध मन्त्रोच्चारणसहित पानसमा बत्ती बालेर सुरुवात गरिएको कार्यक्रममा सिड्नीमा रही ट्राभल र टून व्यवसायमा संलग्न व्यवसायहिरुको उपस्थिति थियो । यसैगरी नेपाली समूदायका अगुवाहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । उक्त अवसरमा बोल्दै सांसद बर्नीले आफु छिट्टै नेपाल जान इच्छुक रहेको बताएकी थिइन् । उनले अष्ट्रेलियामा छिटो विकास गरिरहेको नेपाली समाजको प्रशंसा गर्दै नेपालीहरुको देशमा एक वर्षभित्रै जाने योजना आफ्नो रहेको सुनाएकी थिइन् । कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले नेपालमा संविधान बनेर पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भइसकेको अवस्थामा स्थिरता आएको हुनाले नेपाल भ्रमण गर्न उपयुक्त समय अहिले नै भएको धारणा राख्नुभएको थियो । लगानीका लागि समेत नेपाल उपयुक्त थलो भएको उहाँको भनाई थियो । नेपालमा विनाशकारी भूकम्पपछि भ्रमण गरेका सिनेटर शाम डेष्टियारीले एक सन्देश पठाउँदै सुन्दर देश नेपाल र नेपालीको प्रशंसा गरेका थिए । आफ्नो भ्रमणको स्मरण गर्दै उनले नेपालले छिट्टै आर्थिक गति हासिल गर्ने अपेक्षा गरेको बताएका थिए । उनको सन्देश प्रतिनिधि आईशा अहम्जातले पढेर सुनाएकी थिइन् । नेपाल पर्यटन प्रबद्र्धनको कार्यक्रममा न्यूसाउथवेल्सकी सांसद जुलिया फिन पनि उपस्थित थिइन् । नेपालको बारेमा कार्यक्रमका सञ्चालक क्रिस वाकरले रोचक तवरले वर्णन गरेका थिए । वाकर नेपालमा ५८ पटक भ्रमण गर्ने अष्ट्रेलियन नागरिक हुन् । उनले नेपालको न्यानो आतिथ्यताले सबैलाई लोभ्याउने र एक पटक गइसकेपछि पटक पटक जान ईच्छा हुने धारणा राखेका थिए । उक्त अवसरमा पत्रकार डा. भरत पौडेलले भूकम्पपछि नेपालमा पर्यटकको संख्या बढेको तथ्यांक प्रस्तुत गरेका थिए । नेपाल सुरक्षित छ भन्ने सन्देश सबैतिर पुगेको भन्दै उनले अष्ट्रेलियनहरुलाई समेत भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा अष्ट्रेलियन फोटोग्राफर क्रिस डे बोडेले नेपालमा भूकम्पपछि भएको राहत र उद्धार कार्यको आफैंले खिचेका फोटोसहित प्रस्तुति दिएका थिए । अष्ट्रेलियामा क्रियाशील टूर अपरेटर, पर्यटन प्रबद्र्धन सम्बन्धी लेखक, फोटोग्राफर लगायत सिड्नीमा रहेका गैरआवासीय नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक नेतृत्व, नेपाललाई माया गर्ने अष्ट्रेलियनहरु, ब्लगरहरु र सञ्चारकर्मीहरुको उपस्थितिबीच न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले नेपालको पर्यटन प्रबद्र्धनमा खेलेको भूमिकाको लागि धन्यवाद दिनुभएको थियो । उक्त अवसरमा साना बाल बलकाकारहरुले नेपालको संस्कृति झल्ने विभिन्न प्रस्तुतिहरु दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?