एनआरएन अष्ट्रेलियाको सदस्यता विवाद, उजुरी फिर्ता, मिलाउने प्रयास जारी


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यताको विषयमा अष्ट्रेलियाका प्रशासनिक निकायहरुमा दिएको उजुरी फिर्ता भएको छ । सदस्यता फर्जी भएको र एकै व्यक्तिले धेरैजनाको सदस्यता बनाउने र नवीकरण गर्ने कार्य गरेको दावी गर्दै दुर्गा बन्जाडेसहितका सदस्यहरुले फेयर ट्रेडिंगलगायतका अष्ट्रेलियन निकायहरुमा दिएको उजुरी फिर्ता भएको हो । एनआरएन अष्ट्रेलियाको टोली, मेम्बरशिप रिजोलुसन कमिटी र उजुरीकर्तासहितको बैठकमा भएको सहमति अनुसार यस्तो कार्य भएको बन्जाडेले एमएनटीभीलाई बताए । विवादको निराकरणका लागि प्रक्रिया अघि बढेको भएपनि दुई पक्षबीच विश्वासको संकट भने देखा परेको छ । एमएनटीभीसँग कुरा गर्दै मेम्बरशिप रिजोलुसन कमिटीका संयोजक डिल्ली ढकालले अझै पनि उजुरीहरु फिर्ता गरेको प्रमाण आफुहरुसम्म नआइसकेको बताए । “हामीले दुई पक्षबीचको सहमति अनुसार विज्ञप्ति निकाल्ने कार्य गरेका हौं । यसपछि एनआरएनका अगुवाहरुसँगको छलफललाई पनि अघि बढाइरहेका छौं । तर, जो साथीहरुले आरोप लगाएर उजुरी गरेको भन्दै त्यसको प्रमाण सार्वजनिक माध्यमहरुमा समेत दिनुभएको थियो उहाँहरुले फिर्ताको प्रमाण भने हामीहरुलाई दिन सक्नुभएको छैन ।” ढकालले भने । उता उजुरीकर्ताहरु भने फेयर ट्रेडिंग लगायतका ठाउँमा उजुरी फिर्ता लिँदा कुनै निस्सा प्राप्त नभएको जिकिर गरिरहेका छन् । बन्जाडेले दावी गरे, “हामीले उजुरी फिर्ता लिइसक्यौं ।”
एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल संस्थागत रुपमा उठाइएका मुद्दाहरुको निराकरण गर्न तत्पर रहेपनि ८ हजार तीन सयभन्दा बढी सदस्यहरुको व्यक्तिगत गोप्यतालाई पनि आफुहरुले उच्च प्राथमिकतामा राखेको बताउनुहुन्छ । मेम्बरशिप रिजोलुसन कमिटीमा यो विषय प्रवेश भइसकेकोले उसैको निर्णय आफुहरुले प्रतिक्षा गरेको सिग्देलको भनाई छ । यो कमिटीमा डिल्ली ढकाल संयोजक छन् भने सुरेन्द्र सापकोटा र जगदिश तिमल्सिना सदस्य छन् । संयोजक ढकाल संस्थामा सुधारको गुञ्जायस सधैं रहने भन्दै त्यसका लागि कसैले पनि आनाकानी नगरेको बताउँछन् । “तर, मैले भनेकै जस्तो हुनुपर्छ । अहिले तत्कालै भन्ने कुरा त्यति जायज हुँदैन कि ?” हाम्रो भनाई यत्तिमात्र हो – उनले एमएनटीभीसँग भने – “एउटा हातमा लठ्ठी लिएर यहाँ हस्ताक्षर गर भन्ने कुरा मान्य छैन । अष्ट्रेलियाको समाजमा एनआरएन अष्ट्रेलिया भनेको नेपालीहरुको अनुहार हो । त्यो अनुहारमा हिलो छेप्ने काम नगरौं । फोहर होला सफा पनि गरौं । सफा गर्ने नाममा गाला नताछौं त्यसले क्यान्सर हुन सक्छ ।” उनले थपे ।
उजुरीकर्तामध्येका एक बन्जाडे सुस्त गतिप्रति आक्रोशित देखिन्छन् । उनी भन्छन्, “हामीले डिल्लीजीलाई ९ दिन भयो, यदि सक्नुहुन्न भने राजीनामा दिनुस् भनेका थियौं । यसमा समय लाग्छ भन्नुभयो । हामी छलफलमै छौं भन्नुभएको छ ।” उनी एनआरएन अष्ट्रेलियाको सदस्यता विवादको सही समाधान नभएसम्म चुनावमा जाने कुरा सम्भव नभएको तर्क गर्छन् । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल विवादको समाधान छिट्टै हुनेमा आफु आशावादी रहेको बताउँछन् । यसैबीच, आगामी आईतबार मेम्बर रिजुलुसन कमिटीले एनआरएनका अभियन्ताहरु, संरक्षकहरुसँग यस विषयमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्ने तयारी गरेको जानकारी बन्जाडेले दिएका छन् । केही समय अघिदेखि कसैले एकमुष्ट रकम तिरिदिएर सदस्यता बढाएको आरोप लगाउँदै बन्जाडेसहित तीर्थ खतिवडा, शिव बञ्जाराले यो मुद्दलाई उठाइरहेका छन् । उता एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि आफुलाई उम्मेद्वारका रुपमा उभ्याउने क्रम भने जारी नै छ । अध्यक्ष पदका लागि हालसम्म चार जनाले आफ्नो उम्मेद्वारी रहने दाबी गरिसकेका छन् भने अन्य पदमा पनि उम्मेद्वारी आउने क्रम जारी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?