मेलबर्नमा युवती बन्धक बनाउने हतियारधारीको गोली हानी हत्या, भिडन्तमा केही प्रहरी घाइते


एक युवतीलाई घरमै बन्धक बनाउने हतियारधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन् । युवतीलाई छुटाउनका लागि घटनास्थलमा पुगेका प्रहरीसँगको भिडन्तका क्रममा तीनजना प्रहरी पनि घाइते भएका छन् । मेलबर्नको ब्राईटनमा भएको यो घटनामा बन्धक बनाइएकी युवती सकुशल छिन् भने उनलाई सोधपुछ भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । दिउँसो करिब चार बजे प्रहरीलाई एक महिलाले फोन गरी आफुलाई बन्धक बनाएको बताएकी थिइन् । ठीक त्यही बेला ब्राईटनको बे स्ट्रीटमा बिस्फोट भएको थियो । प्रहरीले यो बिस्फोट नभएर बन्दुक चलाइएको आवाज भएको बताएका छन् । दिउँसो ४ बजेदेखि करिब ६ बजेसम्मको समय निकै तनावपूर्ण रहेपनि अन्ततः प्रहरीले बन्धकलाई मुक्त गराउन सफल भएको भिक्टोरिया प्रहरीका एसिस्टेन्ट कमिश्नर एन्ड्रयू क्रिस्पले बताए । बन्धक बनाएका व्यक्तिले प्रहरीलाई नै गोली चलाउन थालेपछि यो घटना भएको थियो । घाइतेमध्ये दुईजना अस्पताल भर्ना भएका छन् । यहीबेलामा च्यानल सेभेनमा कसैले फोन गरेर ईस्लामिक स्टेटका तर्फबाट ठूलै घटना गराउने भनी बताएकोमा फोन गर्ने व्यक्ति र मारिने व्यक्ति एकै हुन् वा होइनन् भन्ने टुंगो लागिनसकेको एन्ड्रयूले स्पष्ट पारे । “यो अनुसन्धानकै क्रममा छ । गोली हाली मृत्यु भएका व्यक्तिको पहिचान खुल्न बाँकी छ । निजले करिब २० वर्षकी युवतीलाई बन्धक बनाएका थिए ।” यसैबीच, भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूसले घाइते प्रहरीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?