स्थानीय तह निर्वाचन असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय, गठबन्धनले भन्यो निर्णय सकारात्मक


File Photo

दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो । मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गर्नुभएको थियो । “दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ लाई सारेर असार ९ गते भनिएको थियो, असार ९ गते पनि मुसलमान समुदायको रमजान पर्वको अन्तिम दिन पर्ने भएकाले र मधेसवादी दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन सारिएको हो”, उपप्रधानमन्त्री निधिले भन्नुभयो ।
यसैबीच, राष्ट्रिय जनता पार्टीको नेतृत्वको सङ्घीय गठबन्धनले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते गर्ने निर्णयको स्वागत गर्दै पूर्वनिर्धारित आन्दोलन फिर्ता लिने निर्णय गरेको छ । गठबन्धनले दोस्रो चरणको घोषित निर्वाचन मिति, उम्मेदवारी दर्तालगायतका कार्यक्रम परिवर्तन गरी निर्वाचनको नयाँ मितिसमेत तय भएको अवस्थामा आमजनताको कठिनाइलाई ध्यानमा राख्दै पूर्वघोषित मधेस, थरुहट र लिम्बूवान बन्दका कार्यक्रम स्थगन गर्ने गरेको गठनबन्धनका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?