एनआरएन अष्ट्रेलियाको महासचिवमा नारायण कोइराला र उपाध्यक्षमा सन्तोष कुँवरको उम्मेद्वारी घोषणा


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागि महासचिव र क्वीन्सल्याण्ड संयोजक एवं उपाध्यक्ष पदमा ब्रिसबेनबाट उम्मेद्वारी घोषणा भएको छ । मंगलबार साँझ आयोजना गरिएको एक कार्यक्रमकाबीच महासचिव पदका लागि नारायण कोइरालाले आफुलाई उभ्याएका छन् भने उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक पदमा सन्तोष कुँवरले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उक्त अवसरमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेका टोनु घोताने समेत उपस्थित थिए । यसैगरी उम्मेद्वारी घोषणा कार्यक्रममा शुभकामना दिनका लागि आईसीसी सदस्य ईश्वर कुईकेल, एनसीसी सदस्य डा. देवराज पौडेल पनि पुगेका थिए । कार्यक्रममा बोल्दै महासचिवको रुपमा उम्मेद्वारी दिने घोषणा गरेका वर्तमान एनआरएन अष्ट्रेलियाका सल्लाहकार नारायण कोइरालाले सन् २००५ देखि आबद्ध रहेर विभिन्न तहमा रही आफुले संस्थामा योगदान दिएको बताए । उनले नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको सचिव र अध्यक्ष समेत भएर समूदायको सेवा गरेको अनुभव रहेको बताएका थिए । विभिन्न संघसंस्थामा काम गर्दा अहिलेसम्म प्रतिस्पर्धामा उभिनु नपरेको भन्दै कोइरालाले यस पटकको निर्वाचनलाई व्यवहारिक पक्ष हो भनेर बुझिदिन पनि सबैमा आग्रह गरे । एनआरएन अष्ट्रेलियाले नेपालमा भूकम्प आएको बेला खेलेको भूमिकाको सबैले प्रशंसा गरेको बताउँदै उनले भने, एनआरएनको अपरिहार्यताको बारेमा कुनै दुईमत छैन । यसको उचाईलाई कायम राख्ने र अझ अघि बढाउने दायित्व हाम्रो हो ।
यसैगरी उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजकका प्रत्यासी सन्तोष कुँवरले आफ्नो व्यक्तिगत समय खर्चिएर समूदायका लागि केही गर्छु भनी अघि आउने सबैको प्रशंसा गर्दै मिलेर टिमवर्कको रुपमा काम गर्न सके पक्कै पनि सफलता प्राप्त हुने आफ्नो विश्वास रहेको बताए । क्वीन्सल्याण्ड राज्य समितिको सचिवको रुपमा कार्यरत रहँदा आप्mनो क्रियाशीलतालाई हेरेर नै अग्रजहरुले संयोजकको रुपमा अघि बढ्न दिएको सुझाव अनुसार आफुले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको कुँवरको भनाई छ ।
कार्यक्रममा अध्यक्ष पदको निम्ति उम्मेद्वारी घोषणा गरिसकेका वर्तमान महासचिव टोनु घोतानेले
विश्वको ७० भन्दा बढी देशमा फैलिएको अन्तर्राष्ट्रिय संगठन भएको कारण विश्वभरिको सञ्जालसँग जोड्दै अष्ट्रेलियावासी नेपालीको हितमा काम गर्नुपर्ने बताएका थिए । उनले आगामी नेतृत्व दावी गरिरहँदा आफ्ना विभिन्न एजेन्डा प्रस्तुत गर्दै अष्ट्रेलियामा क्रियाशील रहेका अन्य नेपाली सामूदायिक संघ संस्थासँगको सहकार्य, एनआरएनको आर्थिक पारदर्शीता लगायतका विषयमा धारणा राखेका थिए । कार्यक्रममा आविष्कार पाण्डे, उमेश खड्का,
मन्दिप केसी, सविता सिग्देल, प्राप्ति थापा, भोलानाथ घिमिरे लगायतले पनि एनआरएन अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिमा रहेर काम गर्ने ईच्छा व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?