सदस्यता सम्बन्धी कुनै गुनासो भए शुक्रबारसम्म लिखित उजुरी दिन एनआरएन अष्ट्रेलियाका अध्यक्ष सिग्देलको आग्रह


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सदस्यता संख्याको बृद्धिलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै विगतमा ६ हजारको हाराहारीमा रहेको सदस्यता यस पटक ८ हजार पुगेकोमा खुशी व्यक्त गरिएको छ । साथै यो बृद्धिसँगै यसमा विकृतिहरु पनि आयो कि भन्ने विभिन्न जनगुनासोहरुलाई निराकरण गर्नका लागि मे २६ तारिख शुक्रबारसम्म ईमेल मार्फत त्यस्ता कुनै प्रमाण, गुनासो या सुझाव भए पठाउन पनि सिग्देलले आग्रह गर्नुभएको छ । सामाजिक सद्भाव र समूदायबीचको एकता अपरिहार्य रहेको भन्दै विज्ञप्तिमा सिग्देलले नेपाली समूदायबीचको समस्यालाई छलफलको माध्यमबाटै समाधान गर्न सकिने विचार पनि राख्नुभएको छ । यद्यपि कानूनी बाटोमा गएकै अवस्थामा पनि त्यसलाई कानूनी किसिमले नै निराकरण गरिने संकेत एनआरएनले दिएको छ । विज्ञप्तिमा कानूनी उपचारको बाटोमा गए पनि त्यसले संस्थाको दीर्घकालीन हित नै गर्ने भनिएको छ । यसअघि एकै व्यक्तिले सदस्यहरुको पैसा तिरिदिएर करिब ४ हजारभन्दा बढी सदस्यता बनाइएको आरोप लगाउँदै केही एनआरएन सदस्यहरुले यो विषयलाई उठाएका थिए । निकै लामो समयसम्म कुनै सुनवाई नभएको भन्दै उनीहरुले फेयर ट्रेडिंगमा उजुरी समेत दिएका छन् । यस विषयमा औपचारिक र अनौपचारिक रुपमा सम्वाद र छलफल भइरहेको छ । यस विषयको निराकरणका लागि अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष दिनेश पोखरेल र पब्लिक अफिसर शमिम अनवर सम्मिलित टोली बनाइएको छ । एनआरएन अष्ट्रेलियाको यस प्रतिक्रियामाथि टिप्पणी गर्दै उजुरीकर्तामध्येका एक तीर्थ खतिवडाले कानूनी बाटोबाट जाने कुरालाई एनआरएनले सकारात्मक रुपमा लिनु खुशीकै कुरा भएको बताउनुभयो । तपाईंको कुनै उजुरी छ भने तपाईंले [email protected] मा ईमेल पठाउन सक्नुहुनेछ । यसरी ईमेल पठाउँदा आफ्नो सदस्यता संख्या, नाम, टेलिफोन नम्बर पनि समावेश गर्नुपर्ने व्यवस्था छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?