दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्ने एमालेको माग


नेकपा एमालेले आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन पुरानै संरचनाअनुसार हुनुपर्नेमा जोड दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा स्थानीय तह थप्ने र सीमाङ्कन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन नै ओझेलमा परेको ठहर गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभाग प्रमुख एवम् पार्टी सचिव योगेश भट्टराईले निर्वाचनको सङ्घारमा प्रधानमन्त्रीको राजीनामाले झन् अन्योल थपेको बताउनुभयो । सरकारले हालै गरेको सीमाङ्कन हेरफेर असंवैधानिक र नियम कानुनको मर्म विपरीत रहेको बैठकले ठहर गरेको बताउँदै उहाँले दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्नेमा जोड दिनुभयो ।
अहिलेलाई ७४४ सङ्ख्यामै स्थानीय तहको निर्वाचन हुनपर्ने र स्थानीय तह हेरफेर गर्नु पर्ने नै भए पाँच वर्षपछि गर्नुपर्ने एमालेको धारणा रहेको उहाँको भनाइ थियो । नयाँ संरचनाअनुसार निर्वाचन हुन नसक्ने र निर्वाचन आयोगले पनि निर्वाचन गर्न नसक्ने बताउँदै उहाँले सरकारले हालै गरेको सीमाङ्कन हेरफेर एमालेलाई अमान्य रहेको भट्टराईले बताउनुभयो । बैठकमा प्रधानमन्त्रीको राजीनामा र विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताउँदै सचिव भट्टराईले प्रधानमन्त्रीको राजीनामा उहाँको व्यक्तिगत, पार्टीगत र सत्ता गठबन्धन पार्टीभित्रको निर्णय भएकाले कुनै टिप्पणी नरहेको उल्लेख गर्नुभयो । अब एमाले प्रधानमन्त्रीको दौडमा छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा सचिव भट्टराईले संसदीय अभ्यास गर्दै आएको पार्टी कुनै पनि संसदीय अभ्यासबाट पछि नहट्ने परि आए एमाले संसदीय प्रक्रियाअनुसार जान तयार रहेको बताउनुभयो । बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायत अधिकांश स्थायी कमिटी सदस्य सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?