वरिष्ठ लोकगायक कुमार बस्नेतका साथ सुमधुर सांगीतिक साँझ २०१७ सिड्नीमा हुँदै


नेपालमा झापा जिल्ला घर भई अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले आगामी जुन ३ तारिखका दिन सुमधुर सांगीतिक साँझ २०१७ आयोजना गर्ने भएको छ । नेपालका कालजयी श्रष्टाहरुको सम्मानमा यसअघि पनि स्तरीय कार्यक्रम सम्पन्न गरेको झापाली समाजले यस पटक भने लोकगायक कुमार बस्नेतलाई अष्ट्रेलियाका नेपालीमाझ प्रस्तुत गर्ने तयारी गरेको कार्यक्रमका संयोजक राजकुमार गोश्वामीले बताए । बुधबार सांगीतिक साँझलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समाजले बैठक गरी विभिन्न निर्णय समेत गरेको संयोजक गोश्वामी बताउँछन् । जुन ३ तारिखका दिन हस्र्टभिलस्थित मराना अडिटोरियममा आयोजना गरिने सांगीतिक साँझमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ । अष्ट्रेलियामै बसेर नेपाली संगीतको श्रीबृद्धिमा तल्लिन कलाकारहरुले आफ्ना हिट नम्बरहरु प्रस्तुत गर्नेछन् भने कुमार बस्नेतले कालजयी गीतहरु प्रस्तुत गर्ने तयारी भएको छ । खानासहित ६० डलर प्रवेश शुल्क र अन्यलाई ३० डलरको टिकट राखिएको छ । झापाली समाजले यस किसिमका कार्यक्रमको आयोजनाबाट मुनाफा रकमलाई झापाको शिक्षा र स्वास्यको सुधारका क्षेत्रमा खर्चिदै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?