मतदाता प्रमुख पार्टीहरुसँगै, प्रारम्भिक गणनामै विश्लेषण निरर्थक


स्थानीय निकायको निर्वाचनलाई मुख्यतः स्थानीय तहका नेताको व्यक्तित्वको आधारमा हेर्ने गरिन्छ । अहिले आएको परिणाममा पनि यस्तै देखिएको छ । तर, कुनै निर्वाचन चिन्हमा मात्रै भोट हाल्नेको पनि कमी छैन । नयाँ पार्टी भन्नेहरुले पनि उम्मेद्वारको व्यक्तित्वको आधारमा मात्रै अग्रता हासिल गरेका छन् यद्यपि यो प्रारम्भिक गणना हो । अहिले नै साझा पार्टीका संयोजक रविन्द्र मिश्रको मिलेको भए राम्रो परिणाम आउने थियो भन्ने प्रतिक्रियाले के बुझ्न सकिन्छ भने उनीहरु यत्ति पनि सोच्न सक्ने क्षमताका रहेनछन् । परिणामको पूर्वानुमानविना नै भाषणको फोहरा छुटाउनेहरुले भोलिका दिनमा काम गर्छन् नै भन्ने अनुमान गर्न सकिन्न यद्यपि उनीहरु गलत काममा भने नलाग्लान् । तर, काम गर्नकै लागि पनि जनपरिचालन र अनुभव आवश्यक हुनेछ । पछिल्लो परिणामले पनि नेपाली काँग्रेस, एमाले र एमाओवादीसँगै मतदाता रहेको स्पष्ट भएको छ । यी मंगलबार विहानसम्मको परिणामका आधारमा ९० ठाउँमा अग्रता र तीन ठाउँमा जीतका साथ काँग्रेस अगाडि देखिन्छ भने ५ ठाउँमा जीत, ७५ ठाउँमा अग्रताका साथ एमाले दोश्रो ठाउँमा छ । उता माओवादी केन्द्र ४५ ठाउँमा अग्रता र ४ ठाउँमा जीतका साथ तेश्रो स्थानमै देखिन्छ । राप्रपा र नयाँ शक्तिले दुई ठाउँमा अग्रता लिएका छन् । स्वतन्त्रले एक ठाउँमा विजय हासिल गरेको र अन्य ३७ ठाउँमा अग्रता लिएका छन् । परिवर्तनको चाहना मतदाताहरुबीच पोखिए पनि परिणाम नै उल्ट्याउने गरी यो सार्वजनिक हुनेछ भन्ने आंकलन अहिले नै गर्न सकिने स्थिति देखिएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?