अष्ट्रेलियामा गएको एकै आर्थिक वर्षमा २७ हजारको भिसा रद्द


अष्ट्रेलियामा यो आर्थिक वर्षको अहिलेसम्मको अवधिमा मात्रै २७ हजार भिसा रद्द गरिएको तथ्य सार्वजनिक भएको छ । डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सनले २७ हजार भिसा रद्द गरेको जानकारी उक्त विभागका सचिव मिचेल पेजुल्लोले दिएका छन् । एक सरकारी सुनवाईका क्रममा उनले यस्तो जानकारी गराएका हुन् । भिसा रद्द हुनुको कारण विविध रहेको उनले बताए । सुनवाई समितिलाई उनले करिब ८ हजार गैरकानूनी व्यक्तिहरु र एक हजार गैरकानूनी कामदारहरुले विभागमा भिसाका लागि आवेदन दिएको पनि तथ्यांक प्रस्तुत गरेका छन् । उनका अनुसार २०१४ को डिसेम्बरदेखि २०१६ को डिसेम्बरसम्ममा २८ सय भिसा चरित्रकै कारणमा रद्द गरिएको पनि बताए । विभागले नयाँ प्रविधिको प्रयोग गरी अहिलेकै जनशक्तिले छिटोभन्दा छिटो भिसा सम्बन्धी सेवा दिन प्रतिबद्ध रहेको पनि सुनवाई समितिलाई जानकारी गराएका छन् । बोर्डर फोर्स कमिश्नर रोमन क्वाडभेलिगले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएका व्यक्तिहरुको भिसा रद्द गर्नका लागि विभन्न सुरक्षा एजेन्सीहरुसँग मिलेर काम गरिरहेको बताएका हुन् । भिक्टोरिया प्रहरीसँगको सहकार्यमा विभागले हिंसात्मक गतिविधिमा संलग्न भएका करिब ६ जनाको भिसा रद्द गरिदिएको पनि उनले खुलाए । यस्तै मोटरसाईकल ग्यांग बनाएर हिंड्ने १ सय ३८ जनालाई पनि उनीहरुको चरित्रको आधारमा भिसा रद्द गरिएको छ । गएको आर्थिक वर्षको अवधिमा ७७ लाखलाई अष्ट्रेलियाको भिसा दिइएको एसवीएसले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?