भिक्टोरियन बहुसांस्कृतिक आयोगको आयुक्त पदमा सीसे डिंकु भए नियुक्त


अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि बहुसांस्कृतिक आयोगमा नयाँ आयुक्त नियुक्त भएका छन् । बहुसंस्कृतिमन्त्री रविन स्कटले आगामी चार वर्षका लागि डिंकुलाई नियुक्त गरेका हुन् । यससँगै आयोगका आयुक्तहरुको संख्या एघार पुगेको छ । डिंकु यसअघिका आयुक्त पिटर खलिलीको ठाउँमा नियुक्त भएका हुन् । खलिलीले निर्वाचनमा भाग लिनका लागि आयुक्त पदबाट राजीनामा दिएका थिए । भिक्टोरियाको बहुसंस्कृति मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । उनी अफ्रिकी समूदायका विभिन्न संघसंस्थामा यसअघि आबद्ध रहेका थिए । आगामी सन् २०१९ को अगष्टसम्मको लागि नियुक्त पाएका डिंकुलाई बहुसंस्कृति मन्त्री रविन स्कटले बधाई दिँदै भनेका छन्, “सीसेको ज्ञान, अनुभव पक्कै पनि भिक्टोरियन मल्टिकल्चरल कमिशनको लागि बहुमूल्य हुनेछ, मुख्यतः अफ्रिकी समूदायका लागि रोजगारको क्षेत्रमा उनले राम्रो गर्ने अपेक्षा छ । म सीसे र भीएमसीसँग काम गर्ने अपेक्षा राख्दछु ।” यसैगरी भिक्टोरियन मल्टिकल्चरल कमिशनकी अध्यक्ष हेलेन कपालोसले सीसेलाई स्वागत गर्दै उनको नियुक्तिले योगदानको कदर भएको प्रतिक्रिया दिएकी छिन् । भिक्टोरियन मल्टिकल्चरल कमिशन एउटा स्वतन्त्र संस्था हो भने यसले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने विभिन्न समूदायको हक, हित र अधिकार प्रबद्र्धनका लागि क्रियाशील हुने र विभिन्न समयमा सरकारलाई सुझाव दिने काम समेत गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?