तीन सयभन्दा बढी निर्विरोध, सबैभन्दा बढी एमालेका उम्मेद्वार निर्विरोध


स्थानीय तहको पहिलो चरणको यही वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनेमध्ये तीन सय १६ जना विभिन्न पदमा निर्विरोध भएका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मनाङको नारफु गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका मिङमानर छिरिङ लामा र डोल्पाको शेफोक्सुण्डोमा नेकपएमालेका टाँसी तुञ्दुप गुरुङ निर्विरोध हुनुभएको हो । त्यस्तै शे–फोक्सुण्डोमा धावा गुरुङ र डोल्पो बुद्ध गाउँपालिकामा मल्लटसी गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा उपाध्यक्षमा निर्विरोध हुनुभएको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लामा १३ हजार पाँच सय ५६ पदका लागि पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते आइतबार हुँदैछ । आयोगका अनुसार उपप्रमुखमा दुई, वडाध्यक्षमा ५६, खुल्ला सदस्यमा एक सय १६, महिला सदस्यमा ६३ र दलित महिला सदस्यमा ७७ निर्विरोध भएका छन् । निर्विरोध हुने पुरुष एक सय ६९ र महिला एक सय ४७ छन् ।
दलगत रुपमा काँग्रेसका ९४, एमालेका एक सय ४२, नेकपा ९माओवादी केन्द्र०का ३६, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका पाँच तथा नयाँ शक्ति पार्टी र नेपाल परिवार दलका एक एक उम्मेदवार निर्विरोध भएका हुन् । त्यस्तै २१ पुरुष र ११ महिला स्वतन्त्र र स्पष्ट रुपमा पहिचान नखुलेका तीन जना पनि निर्विरोध भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?