निधिको राजीनामा फिर्ता, गर्नथाले एमालेको विरोध


उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताउनुभएको छ । जनकपुर विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता र प्रहरी महानिरीक्षकको सन्दर्भमा आफ्नो असहमति भएपछि राजीनामा दिएपछि नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट गर्नुभयो । आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाका बारेमा पुनर्विचारको सुझाव दिएको उहाँले बताउनुभयो । एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताका बारेमा छलफल हुन सक्ने धारणा पनि राख्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले)का कारण राजनीतिक एजेण्डाको समाधानको प्रयासले सार्थकता पाउन नसकेको आरोप लगाउनुभएको छ ।
नेपाली काँगे्रस क्षेत्रीय समिति–४ धनुषाद्वारा आज जनकपुरधाममा आयोजित विचार गोष्ठीमा उहाँले संविधान संशोधन र स्थानीय तहमा जनसङ्ख्याका आधारमा सङ्ख्याको वृद्धिको बाधक पनि एमाले बनेको छ भन्नुभयो । उपप्रधानमन्त्री निधीले मधेसका मुद्धाको सम्बोधन गराई मधेसी जनतालाई अधिकारको प्रत्याभूति गराउने सवालमा सरकार गम्भीर रहेको उल्लेख गर्दै मधेस र मधेसी जनताप्रति संशय र आशङ्का गर्नेहरूसङ्ग सजग रहनु जरूरी छ भन्नुभयो । हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने सबै जनता नेपाली हुन् भन्ने राष्ट्रिय एकतामा जोड दिनु आवश्यक भएको बताउँदै उहाँले सङ्घीयताले राष्ट्र विखण्डन नभई प्रादेशिक सीमामा परिवर्तन हुने भएकाले यस बारेमा भइरहेको दुष्प्रचारप्रति गम्भीर हुन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री निधिले गणतन्त्र, सङ्घीयता, समावेशीता र मिश्रित निर्वाचन प्रणालीलाई सबल बनाउनुपर्नेमा पनि जोड दिनुभयो । पूर्व सांसद रामसरोज यादवले नेपाली काँगे्रस मधेस मुद्दाको सम्बोधनका लागि सधैं अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?